Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चुनाव नजिकिँदै गर्दा रौतहटमा दुई समुदायबिच झडप, के भन्छ सुरक्षा निकाय ?

चुनाव नजिकिँदै गर्दा रौतहटमा दुई समुदायबिच झडप, के भन्छ सुरक्षा निकाय ?

 काठमाडौँ : फागुन ७ मा रौतहटको गौर नगरपालिका–६ स्थित सवगढा गाउँमा मस्जिद अगाडि जन्ती पुग्यो । विवाहमा डिजे बजाएर हिँडेको विषयले ठुलाे रूप लियो र अवस्था झडपसम्म पुग्यो । 

फागुन ९ मा झडप हुँदा दुई वटा मोटरसाइकलमा तोडफोड र दुई वटामा आगजनी भयो । उत्तेजित समूहले गौर नगरपालिका–४ स्थित टिकुलियामा भारतीय नम्बर प्लेटको गाडीमा आगजनी गरे । टिकुलियामा रहेको मस्जिदमा आगो लगाइएको थियो । त्यो नियन्त्रमा लिन सशस्त्र प्रहरीले बलले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । बिहीबारदेखि सुरु भएको विवाद विवाहमा डिजे बजाएको विषय मात्र सीमिति थिएन, एक किशोरीलाई जिस्क्याएको र किराना पसलेलाई हेलाँहोचो गरेको विषयले धार्मिक सम्प्रदायिक सम्बन्धमा खलल पुग्यो । शनिबार साँझ गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने कार्य दुरुत्साहित गर्ने निर्णय गर्दै घृणा फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको थियो । केन्द्रीय सुरक्षा समितिले सबै धर्म, समुदायबिच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न अनुरोध गरेको छ ।

सबगढा गाउँको बडी मस्जिदमा पनि क्षति पुर्‍याइएको छ । सुरु दिनको विवादमा नै दुई समुदायले छतबाट ढुंगा हानाहान गरेका रौतहटमा कार्यरत सुरक्षा अधिकृतहरू बताउँछन् । शनिबार आक्रोशित समूहले गौर–चपुर सडक खण्डमा पर्ने अस्लम पेट्रोल पम्पमा तोडफोड गरेका थिए । ढुंगा प्रहारबाट पम्प रहेको भवनको ४ वटा झ्याको सिसा फुटेको छ । गौरमा कर्फ्यू लगाइएको छ । दुई समुदायबिच देखिएको विवाद पुरानै अवस्थामा फर्काउन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सर्वपक्षीय छलफल गराइरहेका छन् । विवाद समाधान गर्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी रौतहट जाँदै छन् ।

चुनावमा पर्ला असर ?

कतिपयले यो विवादका कारण फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा असर गर्ने आशंका गरेका छन् । अहिले विवाद भएको ठाउँ रौतहट निर्वाचन क्षेत्र नम्बर–१ मा पर्छ । जहाँ नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल, नेकपा (एमाले)का अजय गुप्ता, कांग्रेसबाट अनिल झा र रास्वपाबाट राजेश चौधरीबि प्रतिस्पर्धा हुँदै छ ।

यहाँ विवाद थप चर्काउने भूमिका खेलेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडाध्यक्ष अबध बिहारी शाहलाई प्रहरीले पक्राउ गरेको छ । गौरको विवाद राजनीतिक नभएकाले निर्वाचनलाई प्रभाव नपार्ने सुरक्षा विष्लेषण गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीसँग भने, ‘चुनावमा यसले असर गर्दैन, तर मतदातामा मनोवैज्ञानिक त्रासचाहिँ पार्न सक्ने आलकन गरिएको छ ।’विवाद न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिले समन्वय गरिरहेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘निर्वाचनलाई बाधा नपर्नेगरी विवाद न्यूनीकरणको प्रयास भइरहेको छ ।’

मधेसमा कार्यरत स्थानीय प्रशासनका अधिकृतहरू रौतहटको विवाद दुई वटा समुदायसँग मात्रै सम्बन्धित भएको बताउँछन् । मधेस प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘यहाँ राजनीतिक विवाद भएको होइन्, दुई समुदायको विवाद हो ।’ आइतबार बिहानैदेखि कर्फ्यूको बिचमा सर्वपक्षीय छलफल निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदिप बस्यालले बताए । गौर नगरपालिकाको पूर्व मडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट