Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ओली भन्छन्–६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ

ओली भन्छन्–६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ

काठमाडौं : पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दावी गरेका छन् । 

आइतबार झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले देशलाई जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताए। त्यसैले पनि आफूमाथि चौतर्फी प्रहारहरु भइरहेको उनको दावी थियो । चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले भने–‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन।’ एमाले कसैको कठपुतली नभएको र देशको एक इञ्च जमिन पनि तलमाथि हुन नदिने वचनमा अडिग रहेको ओलीको दावी थियो । उनले आगामी प्रतिनिधि सभा निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिबीचको निर्णायक सङ्घर्ष भएको बताए । 

ओलीले एमालेले जित्नुपर्ने कारणमा देशको सार्वभौमसत्ता, विकास र समृद्धिलाई जोड दिए। अझै पनि निर्वाचन रोक्ने र बिथोल्ने प्रयास भइरहेको बताउँदै उनले भने–‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलिकन विजयको तयारीमा लाग्छौं।’ ओलीले विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित गतिविधि गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै, झण्डाको अपमानलाई ‘निर्वाचन विरुद्धको अपराध’ भने।

आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको विवरण प्रस्तुत गर्दै उनले एमाले मात्र चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे। हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउने, साक्षरता दरमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास जस्ता उपलब्धिहरू हासिल गरिएको छ। साथै उनले जीवनभर भ्रष्टाचार नगरेको पनि दोहोर्याए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट