सुर्खेत : सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’ नै चलाएको छ । सोही अन्तर्गत गएराति मात्रै ३ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई त हवाई फायर नै गरेर नियन्त्रणमा लिनु परेको बताए । ‘उसको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको छ,’ उनले भने ,बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–८ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचना आयो । सोही अनुसार, प्रहरी टोलीले चन्दलाई शङ्कास्पद अवस्थामा फेला पार्यो । ‘उसलाई हामीले नियन्त्रण गर्न खोज्दा त हामीलाई नै उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्यो,’ डीएसपी बुढ्थापाले रातोपाटीसँग भने, ‘त्यसपछि प्रहरी टोलीले बल प्रयोग स्वरूप १ राउण्ड हवाई फायर गर्नुपर्यो ।’
चन्दलाई मंगलबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए । यस्तै, गएराति नै ९ बजेतिर ८ ग्राम ६ मिलिग्राम लागुऔषधसहित अन्य दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ की २० वर्षीया माया नेपाली र २८ वर्षकी संगीता विक रहेका छन्। उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको डीएसपी बुढ्थापाले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij