Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

चितवन : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ ।  यसैक्रममा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । 
निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी दाहाल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै उनी विकासका स्पष्ट एजेण्डासहित मत मागिरहेकी छन् । 
भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताइन् । 
भरतपुरमा बाटोघाटो, जंगली जनावर रोकथाम, मेसजाली फाउन्डेसन तथा नारायणी तटबन्धजस्ता ठूला योजना सम्पन्न भएको बताउँदै दाहालले भनिन्, “लगातार ९ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ, त्यसैले मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।”
उनले चितवन निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको स्पष्ट पारिन् । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै  निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने बताईन् ।

मतदातासँगको भेटघाटका क्रममा धेरै स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाहालको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना देखिएको छ,” उनले बताइन् । कतिपय मतदाताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेपछि दाहाल थप उत्साहित देखिएकी छन् । 
उनले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने योजनासमेत उनले अघि सारेकी छन् । 
 चितवन–३ मा मत परिवर्तनको सम्भावना न्यून देखिएको र दाहालका पक्षमा माहोल बलियो बन्दै गएको ‘रेनु जिताउ’ अभियानमा सक्रिय सन्तोष देउजाले बताए । 
चुनाव नजिकिँदै जाँदा चितवन–३ मा उम्मेदवार दाहालको सक्रियता र जनसम्पर्क अभियानले थप ऊर्जा पाएको देखिन्छ । अब मतदाताको अन्तिम निर्णयले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट