Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रतिनिधिसभा निर्वाचनः फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

प्रतिनिधिसभा निर्वाचनः फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज आयोजित पत्रकार सम्मेलनमा दलहरूलाई मतदानको अधिकार प्रयोगमा बाधा पुर्‍याउने, धम्की दिने, आर्थिक प्रलोभन देखाउने वा कुनै किसिमले मतदाता प्रभावित पार्ने काम नगर्न कडा निर्देशन दिएका छन्।

आयोगले थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रयोग गर्ने, सामाजिक बहिष्कार गर्ने, धर्म भकाउने वा लोभ–लालच देखाउने लगायतका काम पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। भण्डारीका अनुसार, मतदातालाई मतदानमा असर पार्ने उद्देश्यले नगद वा जिन्सी दिन, सार्वजनिक भोजको आयोजना गर्न, जाति, धर्म वा क्षेत्रीय आधारमा द्वेष उत्पन्न गर्ने काम गर्न पाइँदैन।

निर्वाचन प्रचारका लागि आयोगले तय गरेको आचारसंहिताअनुसार ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्च क्षेत्रफल भएको पर्चा मात्र वितरण गर्न पाइनेछ। पोस्टर, भित्ते लेखन, तुल, ब्यानर वा डिजिटल डिस्प्ले प्रयोग गर्न वा गराउन, सरकारी, सार्वजनिक वा धार्मिक स्थलमा प्रचार सामग्री टाँस्न समेत निषेध गरिएको छ।

मतदानको ४८ घण्टा अघि देखि मतगणनासम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा प्रचार गर्न पाइँदैन। साथै, सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्ति प्रयोग नगर्न र सरकारी वा गैरसरकारी निकायबाट आर्थिक सहयोग लिन नहुने पनि आयोगले स्पष्ट निर्देशन दिएको छ।

निर्वाचन आयोगले यस प्रकारका नियम पालनाका लागि सबै दल र उम्मेदवारसँग सहकार्य गर्न आग्रह गरेको छ र उल्लङ्घन भए कानूनी कारबाहीको चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट