Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन लक्षित ओलीको टिप्पणी-आफ्नो क्षेत्रमा विश्वास गुमाएपछि नयाँ क्षेत्र खोज्दै आए

बालेन लक्षित ओलीको टिप्पणी-आफ्नो क्षेत्रमा विश्वास गुमाएपछि नयाँ क्षेत्र खोज्दै आए

काठमाडौं : पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ क्षेत्रबाट चुनाव लडेका नेताहरुप्रति आक्रोश पोखेका छन् । सोमबार झापाको गौरीगञ्जमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका हुन्। 

त्यस्ता नेताहरुलाई आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको ओलीको भनाइ थियो। उनले भने–‘हामीले थाहा पाउनुपर्छ आफ्नै् जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन। त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ?’

उनले यो सबै बुझेर मात्रै मत दिन आग्रह गरे। झापाको गौरीगञ्जसँगको सम्बन्ध २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उनले २०२९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताए। २०३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर २०४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताए। 

ओलीले भने–‘अलि समय भएको थियो, मैले यहाँहरूसँग भेट्न नपाएको। आज भेटघाट भएर खुशी लागेको छ। यद्यपि यो ठाउँसँगको मेरो सम्बन्ध धेरै पुरानो छ । म २०२६–२७ सालदेखि यस ठाउँमा आउने र सङ्गठन गर्ने गरेको हुँ। २०३० सालमा जेल परेपछि मैले यतातिर आउने मौका मिलेको थिएन। जेलबाट छुटेपछि केही समय मैले यता गाउँघरतिर आउने मौका मिलेको थिएन फेरि। २०४७ सालको अन्तिमबाट फागुन चैतबाट म यो ठाउँमा आउन थालेको हुँ।’

उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको दावी गरे । उनले भने–‘गौरीगन्ज उहिलेको गौरीगन्ज म सम्झिन्छु। २०२६(२७ सालमा हेर्दाको गौरीगन्ज म सम्झिन्छु। आजको गौरीगन्ज त सेल्फी रोड भन्छन् नि सेल्फी रोड जस्तै छ। सेल्फी खिच्ने बाटो जस्तै छ गौरीगन्ज ।’अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराए। मधेसी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ काठमाडौंको मेयरबाट राजीनमा दिएर झापा पुगेका छन्। उनले ओलीसँगै झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदावरी दिएका छन्। त्यसैले पनि ओलीको उक्त भनाई बालेन लक्षित नै रहेको आँकलन गर्न सकिन्छ । त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। उनी यसअघि काठमडौं–४ बाट चुनाव जित्दै आएका थिए। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदावर बनेका छन्। यसअघि उनी गोरखाबाट सांसद बनेका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट