चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा चुनावी घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गर्नुभएको छ। बिहीबार बिहान भरतपुर महानगरपालिका–४ लङ्कूस्थित लक्ष्मी वैंङ्कटेश मन्दिरमा पूजा–अर्चना गर्दै उहाँले चितवन क्षेत्र नम्बर २ केन्द्रित चुनावी अभियानको थालनी गर्नुभएको हो।
जनकपुरमा आयोजित चुनावी सभाका क्रममा खुट्टामा सामान्य चोट लागेपछि केही समय आराम गरिरहेका पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछाने चितवन आएर पुनः सक्रिय देखिनुभएको छ। उहाँले श्रीमती निकिता लामिछानेसहित रास्वपाका चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हरि ढकाल र क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमसँगै मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको थियो। सो अवसरमा मन्दिरका महन्त उमानाथ कँडेलबाट उहाँहरूले सामूहिक रूपमा आशीर्वाद ग्रहण गर्नुभएको थियो।
पूजाअर्चनापछि लामिछानेले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग संक्षिप्त संवाद गर्दै चितवनमा रास्वपाको चुनावी अभियानलाई थप सशक्त बनाइने बताउनुभएको छ। उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धता राख्ने उद्देश्यले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।
बिहीबार नै गृह प्रवेशको तयारीमा रहनुभएका लामिछानेले पार्टीका कार्यकर्तासँगको भेटघाटपछि शुक्रबारदेखि चितवनका विभिन्न स्थानमा चुनावी घरदैलो कार्यक्रम, सम्पर्क कार्यालय उद्घाटन तथा आम नागरिकसँग अन्तरक्रिया कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिनुभएको छ।
चितवनलाई रास्वपाको महत्वपूर्ण राजनीतिक केन्द्रका रूपमा लिइएको उल्लेख गर्दै लामिछानेले भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत लामिछानेको आगमनसँगै चुनावी माहोल थप उत्साहित बनेको बताएका छन्। रास्वपाले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सशक्त उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गर्दै आगामी दिनमा प्रचारप्रसारलाई अझ तीव्र बनाइने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij