Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी

काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएपछि भारतको कोलकातामा आपतकालीन अवतरण गरिएको छ। बुधबार दिउँसो १: २८ बजे उडान भरेको ‘टीएचवाई ७२७’ नम्बरको जहाजको दाहिने इन्जिनमा आकाशमै आगो देखिएपछि जहाजलाई डाइभर्ट गरिएको हो।

विमानस्थल कार्यालयका अनुसार उडान भरेको करिब चार मिनेटमै जहाजको इन्जिनमा समस्या देखिएको थियो। चालक दलका सदस्यले इन्जिनमा आगो लागेको संकेत पाएपछि तत्कालै काठमाडौँ एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएका थिए ।

लगत्तै काठमाडौँ विमानस्थलमा करिब १५ मिनेटका लागि उडान र अवतरण बन्द गरी आपतकालीन तयारी गरिएको थियो। यद्यपि, पाइलटले जहाजलाई कोलकातातिर मोड्ने निर्णय गरेपछि अनुमति दिइएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिए।

जहाजमा २३६ जना यात्रु सवार थिए। कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो करिब २: ४९ बजे जहाजलाई सुरक्षित रूपमा अवतरण गराइएको छ । अवतरणका क्रममा कोलकाता विमानस्थलमा दमकल र एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा राखिएको थियो । सबै यात्रुहरू सुरक्षित रहेको र कसैलाई पनि चोटपटक नलागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल सो जहाज कोलकाता विमानस्थलमै रहेको र प्राविधिक टोलीले इन्जिनमा देखिएको समस्या र आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट