काठमाडौँ : काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसालमा मंगलबार रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोरेर आरोपी फरार भए । ३ दिनअघि भोटेबहालमा पनि २५ तोला सुन चोरी भएको थियो । माघ १७ मा शनिवार एक घरबाट चोरीमा संलग्न व्यक्तिले दिउँसोको समयमा २५ तोला सुन चोरेर भागेका हुन् ।
भोटेबहाल र बौद्धमा भएको घटनामा एउटै व्यक्ति संलग्न रहेको अनुसन्धान अधिकृतहरूले आशङ्का गरेका छन् । मंगलबार दिउँसो १२ बजेतिर चोर टुसाल स्थित रिन्जीको घरमा प्रवेश गरेका थिए ।
सरासर चौथो तलामा पुगेर उनले ढोकाको लक खुस्काए । अनि, त्यहाँ राखिएको सि–माला जडित सुनको माला र चाँदीका गहना झोलामा प्याक गरेर निस्केर हिँडे । घरमा मानिसहरू भाडामा पनि बसेका थिए । पाँचौँ तला र छतमा घरका मानिसहरू घाम तापिरहेको अवस्थामा करोडको बहुमूल्य सामान चोरी भएको कसैले थाहै पाएनन् ।
करिब २ बजेतिर ढोकाको लक खुस्काएको र सुन जडित सि–माला नदेखेपछि घरधनीले प्रहरीलाई खबर गरे । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टिमले सो चोरीबारे अनुसन्धान गरिरहेको छ । रिन्जीको घरबाट ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरी भएको दाबी गरिएको छ ।
प्रहरीले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको फुटेज हेरेर अनुसन्धान अघि बढाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि सो घटना अनुसन्धान गरिरहेको छ । फुटेजमा देखिए अनुसार चोरीमा संलग्न पुरुष एक्लै हिँडेको देखिन्छ ।
झोला बोकेर हिँडेका उनले मोटरसाइकल वा स्कुटर प्रयोग गरेका छैनन् । भोटेबहाल र बौद्धमा भएको घटनामा संलग्नको हुलियामा समान रहेको अनुसन्धानमा संलग्न एक जना प्रहरीले अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘दुवै घटनामा संलग्नको हुलिया उस्तै देखिन्छ, उनको खोजी भइरहेको छ ।’ उनले अन्यत्र पनि चोरेको हुनसक्ने आकलन गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij