Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा निर्माण हुँदैछ अनौठो ‘जरा उद्यान’

चितवनमा निर्माण हुँदैछ अनौठो ‘जरा उद्यान’

चितवन :  चितवनको एक सामुदायिक वनले रुखका पुराना जराहरूलाई कलात्मक स्वरूप दिएर पर्यटकीय गन्तव्य बनाउने नवीन प्रयास सुरु गरेको छ। भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्र रहेका काम नलाग्ने जराहरूमा विभिन्न आकृति कुँदेर ‘जरा उद्यान’ (रुट पार्क) निर्माण गर्न थालेको हो।

वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुवाती चरणमा चारवटा ठुला जराहरूमा भगवान् शिव, गणेश, गौतम बुद्ध र विभिन्न जनावरका आकृतिहरू कुँदिएका छन्। वनको योजनाअनुसार कुल १६ वटा जरामा यस्ता आकर्षक आकृति तयार पारिनेछ। बाँकी रहेका अन्य जराहरूलाई सफा गरेर रङरोगन गरी सजाउने योजना बनाइएको छ।

जराबाटै बन्नेछन् कुर्सी र पिङ
जरा उद्यानलाई थप आकर्षक बनाउन जराहरूबाटै कुर्सी, ढिकी, रङ्गटे पिङ, चिप्लेटी र पिर्के पिङ जस्ता काठका सामग्री निर्माण गरिनेछ। जङ्गलको वातावरणसँग मिल्ने गरी बाघ, गैँडा, जरायो, चित्तल र चराचुरुङ्गीका आकृतिहरू पनि कुँदिँदैछ। यसलाई ‘स्टोन पार्क’ (ढुङ्गाको बगैँचा) कै मोडलमा तर काठको प्रयोग गरेर विकास गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले बताए।

रुखका जराहरूलाई खेर जान नदिई पर्यापर्यटनसँग जोड्ने यो अभियानले स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। अहिले दैनिक चार जना स्थानीय कालीगढहरू जरामा कला भर्न व्यस्त छन्। यो पार्क बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि मनोरञ्जनको केन्द्र बन्ने गरी डिजाइन गरिएको छ।

यही सामुदायिक वनभित्र रहेको पर्यटकीय ‘किङफिसर ताल’ को संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई कुनै असर नपर्ने गरी यो उद्यान निर्माण भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरूका लागि यो एउटा नयाँ र नौलो गन्तव्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट