Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

संसदीय निर्वाचनमा चितवन–३ : सिंहदरबार पुगेकासँग नयाँ अनुहारको प्रतिस्पर्धा

संसदीय निर्वाचनमा चितवन–३ : सिंहदरबार पुगेकासँग नयाँ अनुहारको प्रतिस्पर्धा

भरतपुर : आगामी संसदीय निर्वाचनमा चितवन क्षेत्र नं ३ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उमेदवार मनोनयन दर्ता नभए पनि यस क्षेत्रमा चार दलका उमेदवार लगभग पक्काजस्तो भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन क्षेत्र नं ३ मा सोविता गौतमलाई उमेदवार बनाउने भएको छ । रास्वपाको केन्द्रीय कमिटीले गौतमलाई चितवन क्षेत्र नं ३ मा उमेदवार बनाउने निर्णय गरेको छ । केही दिनअघि रास्वपाको भरतपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा गौतमले भरतपुर–३ आफ्नो घर भएको कारण चितवन क्षेत्र नं ३ मा आफ्नो दाबी रहने बताएकी थिइन् । गौतम यसअघिको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएर सिंहदरबार पुगिसकेकी छन् । त्यतिबेला काठमाडौँ क्षेत्र नं २ मा गौतमले १५ हजार २२९ मत पाएकी थिइन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरेका थिए ।

उनले आफू निर्वाचित भएको क्षेत्र छोड्दै चितवन क्षेत्र नं ३ रोजिन् । सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुनमा स्नातक गरेकी छन् । उनले अधिवक्ताका रुपमा र पत्रकारिता क्षेत्रमा काम गरेकी छन् । रास्वपाकी केन्द्रीय सदस्य सोविता दोलखाको तामाकोशीमा जन्मिएकी हुन् ।

यस्तै, राप्रपाले चितवन क्षेत्र नं ३ मा आगामी संसदीय निर्वाचनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई उमेदवार बनाउने भएको छ । एकलरुपमा पाण्डे उमेदवार सिफारिस भएका कारण उनी पनि पक्का चुनावी मैदानमा आउने भएका छन् । पाण्डे यसअघि सोही क्षेत्रमा विजयी भएका हुन् । उनी पटकपटक यस क्षेत्रबाट जित हासिल गरेर सिंहदरबार पुगेका छन् । अघिल्लो निर्वाचनमा पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतले जितेका थिए । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा थिइन् । उनले १४ हजार ८४२ मत ल्याएकी थिइन् ।

पाण्डे र सोविता सिंहदरबार पसिसकेका नेता भए । उनीहरुसँग सिंहदरबार प्रवेश नगरेकी भरतपुर महानगर प्रमुख रेनु दाहालले भिडन्त गर्दैछिन् । नेपाली कम्युनिस्ट पार्टीले उनलाई एकलरुपमा सिफारिस गरेको हुनाले उनको उमेदवार पक्का छ । दाहालले महानगरको मेयर पदबाट राजीनामा दिएर चितवन क्षेत्र नं ३ बाट उमेदवार बन्ने भएकी हुन् । दाहाल यस क्षेत्रबाट निर्वाचित भए पहिलोपटक सिंहदरबार प्रवेश गर्नेछिन् ।

सिंहदरबार प्रवेश गर्ने लक्ष्य बोकेर रेनु २०७० मा काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रेकी थिइन् । त्यतिबेला उनी पराजित भइन् । त्यसपछि रेनु आफ्नो गृह जिल्ला चितवन फर्किएर भरतपुर महानगरको मेयरमा उठिन् । रेनुले २०७४ र २०७९ मा लगातार भरतपुर महानगरपालिकाको मेयरमा अत्यधिक मतले जितिन् । भरतपुरमा उनले गरेको दर्जनौँ विकासका योजना देशभर नै चर्चा गर्न लायक छन् ।

चितवन क्षेत्र नं ३ मा नेकपा एमालेले सादगी नेतालाई उमेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीले शंकरराज थपलियालाई उमेदवार बनाउने निर्णय गरेको छ । उनी भरतपुर महानगर कमिटी अध्यक्ष हुन् । उनी पनि पहिलोपटक संसदीय चुनावी प्रतिस्पर्धामा रहेका छन् । एमाले जिल्ला कमिटीबाट एकल सिफारिस भएका उनलाई केन्द्रीय कमिटीले उमेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट १० जनालाई उमेदवारलाई सिफारिस गरेको छ, तर कांग्रेस दुई धारमा विभाजन भएका कारण यस क्षेत्रबाट टिकट कसले प्राप्त गर्छ भन्ने विषय फाइनल भइसकेको छैन । चितवन निर्वाचन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका १९ वटा वडा र सिङ्गो माडी नगरपालिका पर्छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस क्षेत्रमा ६३ मतदानस्थल र एक लाख ५५ हजार ३०९ मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट