Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि सात हजार प्रहरी खटाइने

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि सात हजार प्रहरी खटाइने

धनगढी : सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार निर्वाचनका लागि प्रदेशभर सात हजार ५८ जना प्रहरी परिचालन हुनेछन् ।प्रहरीसँगै निर्वाचन प्रहरी पनि सहायक भूमिकामा खटाइनेछ । उनका अनुसार प्रदेशका नौवटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ भने सशस्त्र प्रहरीतर्फ एक हजार ५१९ जना निर्वाचन प्रहरी खटाइनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । तीमध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरुष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश प्रहरीले मतदान स्थलको संवेदनशीलताको आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। एसएसपी विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् ।

मतदान स्थलतर्फ ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील सूचीमा राखिएका छन्। यस्तै, मतदान केन्द्रमध्ये ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशील रहेका छन् । सुरक्षा व्यवस्थाअनुसार सामान्य मतदान केन्द्रमा पाँच जना, संवेदनशीलमा छ जना र अतिसंवेदनशील केन्द्रमा १० जना प्रहरी परिचालन गरिनेछ। मतदान स्थलको भित्री सुरक्षामा प्रहरी खटाइने भए पनि बाहिरी सुरक्षाका लागि थप जनशक्ति परिचालन गरिने एसएसपी विष्टले बताए। यसपटक सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् । प्रदेश प्रहरीले बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील सूचीमा राख्दै विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट