चितवन : राम्रो प्रतिफल दिने व्यवसायको रूपमा स्वास्थ्य क्षेत्र देखिँदै गएपछि पछिल्लो समय ठूलो लगानीमा ‘मल्टिस्पेसियालिटी’ अस्पताल खुल्ने क्रम बढ्दो छ। वित्तीय रूपमा राम्रो सम्भावना देखिएपछि व्यवसायीहरू यस क्षेत्रतर्फ आकर्षित भएका हुन्।
यसैक्रममा डा. भक्तमान श्रेष्ठले ठूलो लगानीमा चितवनमा दोस्रो अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छन्। उनले भरतपुरमा चार अर्ब ७६ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न ‘सुपर स्पेसियालिटी’ न्युटन अस्पताल सञ्चालनमा ल्याउन लागेका हुन्। श्रेष्ठले भरतपुरमा १५० बेडको एनपीआई नारायणी सामुदायिक अस्पताल सञ्चालन गरिरहेका छन्। न्युटन र नारायणी सामुदायिक अस्पताल समाहित (मर्ज) भइसकेको छ।
निर्माणाधीन न्युटन अस्पताल एनपिआई नाममा सञ्चालन हुने भएको छ। एनपीआई नारायणी क्यान्सर उपचारका लागि खोलिएको अस्पताल हो। निर्माणाधीन न्युटनमा ६० प्रतिशत बैंकको ऋण र ४० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार बैंकको ऋण दुई अर्ब ९० करोड र एक अर्ब ८९ करोड रुपैयाँ संस्थापकको स्वपुँजी हुने एनपीआईले जनाएको छ। बैंकबाट ऋण स्वीकृतिको प्रक्रियामा रहेको एनपीआईले जनाएको छ।
हाल चलिरहेको एनपीआई नारायणी भन्दा नेटवर्थ र यसको हालको सञ्चालन क्षमता भन्दा धेरै ठूलो छ। अनुमानित लागतभित्र समयमै सम्पन्न हुने जोखिम रहन्छ। ३५० मध्ये सय बेड क्यान्सर रोग उपचारका लागि छुट्टाइने भएको छ। अस्पताल आठ तलाको हुनेछ। निर्माणाधीन अस्पतालको ७१ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको एनपीआई नारायणी सामुदायिक अस्पतालले जनाएको छ। निर्माणाधीन अस्पताल आगामी २०८३ मंसिरसम्म सञ्चालनमा ल्याउने योजना रहेको छ।
स्वास्थ्य सेवा राजस्व र रोजगारी दुवैको हिसाबले नेपालको सबैभन्दा ठूलो क्षेत्रहरू मध्ये एक बनेको छ। स्वास्थ्य सेवामाअस्पताल, चिकित्सा उपकरणहरू, क्लिनिकल परीक्षणहरू, आउटसोर्सिङ, टेलिमेडिसिन, चिकित्सा पर्यटन, स्वास्थ्य बिमा र चिकित्सा उपकरणहरू समावेश छन्।
एनपीआईको स्थापना चितवनका डाक्टरहरूको समूहले गरेको हो। डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यहरू छन्। श्रेष्ठ ग्यास्ट्रो इन्टेस्टाइन र सर्जिकल ओन्कोलोजिस्टमा विशेषज्ञता हासिल गरेका एक प्रसिद्ध सर्जन हुन्। उनी यसअघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आठ वर्षदेखि संलग्न थिए। उनले तीन वर्षसम्म अस्पतालको अध्यक्षता र लगभग चार वर्षसम्म कार्यकारी निर्देशकको रूपमा काम गरेका थिए।
सञ्चालनमा रहेको अस्पताल भरतपुर नगरपालिका, चितवनमा अवस्थित छ। जुन प्रमुख स्थानहरू मध्ये एक मानिन्छ। निर्माणाधीन अस्पताल स्थल पूर्व पश्चिम राजमार्गबाट १ किलोमिटरको दुरीमा रहेको छ।
एनपीआई नारायणी सामुदायिक अस्पताल २००६ मा स्थापना भएको हो। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ल्याब टेक्निसियनमा ४० सिट, जनरल मेडिसिनमा ३० सिट र बीएससी नर्सिङमा ३० सिट कलेज सञ्चालनमा छ। एनपीआई नारायणीको व्यापार ४४ प्रतिशत बढेर ६८ करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्ष ४३ करोड ७० लाख रुपैयाँ थियो। अघिल्लो वर्ष ४१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। एनपीआई नारायणी ऋण मुक्त थियो। नयाँ अस्पताल बनाउनका लागि दुई अर्ब ४० करोड रुपैयाँ ऋण लिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सेवा क्षेत्रमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो लगानी ६७ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। जुन १२.२१ प्रतिशत वृद्धि भएको हो। यसबाट स्वास्थ्य क्षेत्रमा ऋण प्रवाह र लगानीप्रति बैंकहरूको आकर्षण बढ्दै गएको देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij