लमजुङ : लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट २४ करोड भन्दाबढि आम्दानी भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी भएको हो ।
यस वर्ष अलैँची प्रतिकिलो र १ हजार ८०० देखि २ हजार ५०० रुपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उनको भनाइ छ ।
गत वर्ष ०.४ प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर ०.३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले जानकारी दिए । आव २०८१ ८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो १ हजार ५०० देखि २ हजार ४०० रुपैयाँसम्ममा अलैँची बिक्री भएको थियो ।
यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका परियोजनाका कृषि अधिकृत मिजारले बताए ।
जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो ।
यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।
जिल्लामा ७०० देखि १ हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटर उचाइमा गोलशाही तथा १ हजार ६०० देखि २ हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ देखि अलैँची खेती विस्तार हुँदै आएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij