एजेन्सी : भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटनामा पर्दा विमानमा सवार ५ जनाको निधन भएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरू सवार रहेको लियरजेट ४५ विमान पुणेको बारामती क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
विमानबाट पवार मुम्बईबाट बारामती जाँदै गरेको र बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
विमानमा पवारका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य सबैको मृत्यु भएको बताइएको छ ।
अजित पवार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का संस्थापक शरद पवारका भतिजा हुन् । उनी लामो समय महाराष्ट्रका उपमुख्यमन्त्री रहेका नेता थिए ।
विमानमा प्राविधिक खराबी आएका कारण दुर्घटना भएको हो वा अवतरणका क्रममा रनवेको अवस्थाले समस्या निम्त्याएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। दुर्घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij