मुस्ताङ : मुस्ताङ जिल्लामा मङ्गलबार रातिदेखि विभिन्न भेगमा लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण डाँडाकाँडा पूरै सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपातका कारण कागबेनी–कोरला सडकखण्ड अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको स्थानीय प्रशासनले जनाएको छ।
घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीका अनुसार हिमपातसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायतका बाली सप्रने सम्भावना बढेको छ, जसले किसानमा आशा थपेको छ । हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लामा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च हिमाली भेगमा एक फिटसम्म हिउँ जमेको छ।
हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडकखण्ड बन्द भएका छन् । त्यसैबिच बाजुराबाट प्राप्त जानकारीअनुसार बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा पनि बाक्लो हिमपात भएको छ।
हिमपातका कारण हिमाली गाउँपालिकाका विच्छ्या, रुगिन र बाँधु, गौमुल गाउँपालिकाको अल्लिस र दहकोट तथा बुढीनन्दा नगरपालिकाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij