माडी : निर्वाचनको घरदैलो अभियान सुरु भएसँगै विभिन्न दलका कार्यकर्ताबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र झगडाका दृश्य देखिन थालेका छन् । तर, चितवनका केही निर्वाचन प्रत्यासीहरूबीच भने त्यसको ठीक उल्टो—हार्दिकता र राजनीतिक शिष्टाचारको उदाहरण देखिएको छ ।
सोमबार माडीको बगहीं बसपार्क क्षेत्रमा नेकपा एमालेबाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार शंकरराज थपलिया र नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालबीच भेटघाट भएको थियो । उक्त भेटमा दुबै उम्मेदवारबीच सौहार्दपूर्ण कुराकानी हुनुका साथै एक–अर्कालाई शुभकामना आदान–प्रदान गरिएको थियो ।
भेटका क्रममा नेकपा एमालेका नेता शिवहरि सुवेदी र श्रीप्रसाद दवाडी तथा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद ठाकुर ढकालको समेत उपस्थिति रहेको थियो ।
हाल सामाजिक सञ्जालमा दलका कार्यकर्ताबीच चर्को आलोचना र गालीगलौजको प्रवृत्ति बढ्दै गएकोप्रति बौद्धिक तप्काले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले व्यक्तिगत आक्षेपभन्दा आ–आफ्ना एजेण्डा र नीति–कार्यक्रममा आधारित स्वस्थ प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दर पक्ष हुने धारणा राखेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij