पोखरा : २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा र संगठन विस्तारलाई हेरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवलपुर–१ लाई गण्डकीमै सबैभन्दा सहज जित निकाल्ने क्षेत्र अर्थात् ‘ग्रीन जोन’का रूपमा राखेको छ । २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रमा रास्वपा प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकमा पहिलो दल बनेको थियो ।
लगातार तेस्रो पटक चुनाव जितेका नेपाली कांग्रेसका डा. शशांक कोइरालाले २७ हजार ६७ मत पाउँदा रास्वपाका राजन गौतमले २४ हजार ३०५ मत सहित तेस्रो स्थान बनाए । एमालेका कृष्णप्रसाद पौडेल २५ हजार ४७ मत पाएर दोस्रो बनेका थिए । राप्रपाको ३ हजार ४ सय मतबाहेक अरु दल ३ अंककै मतमा सीमित रहे, अर्थात् अन्य कसैले पनि १ हजार मत कटाउन सकेनन् ।
समानुपातिकतर्फ रास्वपाले २५ हजार ७ सय ७४ मत पाउँदा कांग्रेसले २३ हजार ४१ मत पायो । एमालेले २२ हजार १ सय ५० मत पाएको थियो । राप्रपाको ५ हजार १ सय र तत्कालीन माओवादीको ३ हजार ६ सय मत आएको छ । जबकि प्रदेश सभातर्फको समानुपातिकमा कांग्रेसले २९ हजार ५४१ मत प्राप्त गरेको थियो । प्रदेश सभातर्फ समानुपातिकमा एमालेको २८ हजार ६ सय १ र राप्रपाको १० हजार ३२२ मत छ । यस्तै, माओवादीले ३ हजार ९६४ मत पाएको थियो ।
काठमाडौँका मेयर बालेन्द्र शाहले लौरो चुनाव चिह्न लिएर जितेका कारण त्यसको प्रभाव प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावमा पनि प¥यो । त्यसो त उक्त चिह्न पछिल्लो चुनावमा हाम्रो नेपाली पार्टीले लियो । नवलपुर–१ मा लौरो चुनाव चिह्नमा २ हजार २९५ मत परेको थियो ।
के भन्छ ग्राउण्ड ?
नवलपुर–१ को ब्याटल ग्राउण्ड उम्मेदवार र कार्यकर्ताले सोचेजस्तो छैन । परम्परागत शक्ति मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई रास्वपाले कडा चुनौती दिने देखिएको छ । कांग्रेसले एकछत्र राज गरेको यो ठाउँमा अहिले पनि आफ्नै उम्मेदवार विजयी हुने कांग्रेसको दाबी छ । हुन त कांग्रेसले जिल्लाकै विकास र जन भेटघाटमा सक्रिय रहँदै आएका बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । लामो समय अध्यापन गरेका उनी कांग्रेस नवलपुरका पार्टी उपसभापति हुन् ।
राम्रो वाककला भएका घिमिरे पहाडी क्षेत्रको भोटमा बढी निर्भर छन् । बुलिङटार स्थायी बसोबास भएका घिमिरे पछि सहर झरेका कारण सहरका मतदातासँग पनि उत्तिकै सहकार्य गरिरहेका छन्, तर विगतको नतिजा हेर्दा उनलाई सहज भने पक्कै छैन । अघिल्लो निर्वाचनमा उम्मेदवार ठिक नभएका कारण भोट क्रस भएको र अहिले उक्त मत फर्किने दाबी कांग्रेसी नेताहरूको छ ।
‘विगतमा डाक्टर (शशांक कोइराला) सँगको असन्तुष्टिले क्रस भएको ३ हजार मत छ । त्यो सर्लक्कै फर्कियो भने अरु केही कुर्नैपर्दैन,’ एक कांग्रेस नेताले भने, ‘पहाडको भूगोल र प्राध्यापन पृष्ठभूमिले घिमिरेलाई जित्न सहयोग पुग्छ, तर सहज भने छैन ।’
पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई जिल्लामा ल्याएर प्रचार गराउन सके निर्णायक भोट आउने आकलन ती नेताको छ । स्थानीयहरू भने फरक तर्क गर्छन् ।
‘पुराना दलप्रतिको असन्तुष्टिका कारण मतदाताहरूमा यसपटक नयाँलाई हेरौँ न भन्ने मत बढेको छ । यसले चुनावी नतिजा अनपेक्षित हुने देखिन्छ,’ एक स्थानीयले भने, ‘उम्मेदवारको छनोट र विगतको भारीका कारण दलहरूलाई आफ्नो विरासत जोगाउन सहज छैन । यही माहोल कायम रहे गढहरू भत्किनेछन् ।’
कांग्रेसले पटक–पटक उम्मेदवार फेरेका कारण पनि चुनावमा केही असर पर्न सक्छ । क्षेत्र नम्बर १ बाट सुरुमा गजेन्द्र आलेलाई टिकट दिइएको थियो । पछि बालकृष्ण घिमिरेलाई टिकट दिएपछि दुवै जनाले उम्मेदवारी दर्ता गरे । तर पार्टीको सिफारिसका आधारमा गजेन्द्रका उम्मेदवारी रद्द भयो र बालकृष्ण आधिकारिक उम्मेदवार बने । रास्वपाबाट अघिल्लो पटकका उम्मेदवार राजन गौतम उठेका छन् । उनी त्यसअघि माओवादीको राजनीतिमा सक्रिय थिए । २०७९ को निर्वाचनदेखि अहिलेसम्म पार्टीको संगठन विस्तार भैसकेको र आम नागरिकहरूको आशा र भरोसा नयाँप्रति भएका कारण चुनाव जित्ने दाबी रास्वपाको छ ।
एमाले पनि यो क्षेत्रमा बलियो छ । एमालेबाट भागीरथ सापकोटा उम्मेदवार छन् ।
अवसर पाउँदा काम गर्न नसकेको आरोपको भारीले पुराना दलहरू थिचिएको अवस्थामा छन् । नयाँहरूलाई पनि विश्वास गरिहाल्ने अवस्था बनेको छैन । अहिले पार्टी परिवर्तनको लहर नै चलेको छ । जे होस्, निर्वाचनका दौरान हुने चुनावी प्रचार र भेटघाट तथा आन्तरिक रणनीतिले नवलपुर–१ को चुनावलाई रोचक बनाउने देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij