बुटवल : नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका विश्वदीप पाण्डेले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनले मंगलबार काठमाडौँमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् ।
लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवल र विश्वसम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनी यही निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रचण्डले रुपन्देही–२ लाई विशेष महत्वका साथ हेरेका हुन् । प्रचण्डले निर्वाचनको समग्र माहोलबारे जानकारी लिँदै आफूलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको सचिवालयले जनाउको छ । उनले आम मतदाताको भावना बुझेर अघि बढ्न पाण्डेलाई सुझाव दिएका छन् ।
पाण्डेले रुपन्देहीमा पार्टी नेतृत्वसँग लामो समयदेखि जोडिएर काम गरेको अनुभव तथा नयाँ पुस्ताको भावना प्रतिनिधित्व गर्न सक्ने क्षमता आफूमा रहेको उल्लेख गरे । यस कारण निर्वाचनको माहोल आफ्नो पक्षमा सकारात्मक रहेको उनले जानकारी दिए ।
पाण्डेले विश्वसम्पदा लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवलसँग जोडिएका सपना र सम्भावनाबारे चर्चा गर्दै व्यवस्थित विकासमार्फत सिङ्गो मुलुकको मुहार फेर्न सकिने अवधारणा प्रस्तुत गरेका थिए । उनले रुपन्देही–२ को सामाजिक, राजनीतिक तथा आर्थिक विकाससम्बन्धी योजनाबारे पनि जानकारी दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेसहित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij