गैँडाकोट : गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा २० करोड बढीको आर्थिक कारोबार भएको जनाइएको छ ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि महोत्सव सफल भएको दाबी गरे ।
“हामीले २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ” उनले भने, “आर्थिक मन्दीका कारण करिब २० करोडको कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेका छौँ ।” यद्यपि गैँडाकोटमा आयोजना भएको महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सघाएको पाण्डेले बताए ।
पुस २५ देखि सुरु भएको महोत्सव आज शनिबार १६औँ दिनमा समापन गरिएको हो । महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सघाएको संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल संयोजक छवि कँडेलले बताए ।
“कृषि तथा उद्योगको क्षेत्रमा नवलपुर गण्डकी प्रदेशकै अग्रणी जिल्लाको रुपमा रहेको छ” कँडेलले भने, “यस महोत्सवले यहाँको कृषि उपजलाई प्रवद्र्धन गर्न सघाउँदै कृषक र उद्यमीहरुको हौसला वृद्धि गरेको हामीलाई महशुस भएको छ ।”
महोत्सवका क्रममा कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेका बन्दा, गाँजर, मूला, काउली, ब्रोकाउली, भेँडे खुर्सानीसहितका कृषि उपजहरुको निःशुल्क प्रवद्र्धन गर्दै प्रदर्शनी गरिएको संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले बताए ।
महोत्सवमा औद्योगिक उत्पादनसँगै अटो, रेष्टुरेन्ट, घरायसी र उपभोग्य बस्तुगरी २५० स्टल तथा बाल उद्यान र जलपरी शो राखिएको सापकोटाको भनाइ छ । महोत्सवमा स्थानीय अदुवाको जामलाई प्रवद्र्धन गर्ने गरी प्रदर्शनीमा राखिएको भन्दै यसले नवलपुरको उत्पादनलाई पहिचान बनाउन मद्दत पुगेको बताए ।
महोत्सव उद्घाटनका दिन आयोजित शोभायात्रामा सहभागीमध्ये उत्कृष्ट १७ समूहलाई समापनका क्रममा आज पुरस्कृत गरिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
विभिन्न धार्मिक, शैक्षिक, सामाजिक संघसंस्था तथा खेलकुद, सामुदायिक वनलगायत पालिकामा क्रियाशील ३ सय ५० भन्दा बढी समूहको सहभागिता रहेको शोभायात्रामा सहभागीमध्ये १४ जनालाई सान्त्वना पुरस्कार तथा तीन समूहलाई पहिलो, दोस्रो र तेस्रो गरी पुरस्कृत गरिएको सापकोटाको भनाइ छ ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय कला र संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिएको थियो । महोत्सव समापनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले महोत्सवले गैँडाकोटको मात्रै नभई समग्र जिल्लाको धार्मिक, पर्यटकीय गतिविधि बढाएको बताए ।
स्थानीयस्तरमा हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै रोजगारी र उत्पादन वृद्धिमा सघाउ पु¥याउने अधिकारीको भनाइ थियो । महोत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साङ्गीतिक प्रस्तुती राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij