Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गैँडाकोट महोत्सव आज समापन, पुरुषोत्तम न्यौपानेसहितका कलाकारको प्रस्तुति

गैँडाकोट महोत्सव आज समापन, पुरुषोत्तम न्यौपानेसहितका कलाकारको प्रस्तुति

गैँडाकोट : नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको चौथो गैँडाकोट महोत्सव आज समापन हुँदैछ । समापनको अवसरमा चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेसहितका कलाकारहरूले प्रस्तुति दिने भएका छन् ।

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आजको कार्यक्रममा पुरुषोत्तम न्यौपानेसँगै जुना श्रीस मगर, विना धिताल तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । समापन दिनको कार्यक्रम कलाकार तथा प्रस्तोता दीपक खड्काले सञ्चालन गर्नेछन् ।

पुस २५ गतेदेखि सुरु भएको महोत्सव आज दिउँसो भव्य समारोहका बीच समापन गरिने जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट–नवलपुरका वरिष्ठ सदस्य तथा महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवलाई दुई लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपेक्षित रूपमा सफल भएको महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट र बाल उद्यानसहित २५० भन्दा बढी स्टल सञ्चालनमा छन् ।

संघका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सव अवधिभर २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको बताए । स्थानीय कृषि उत्पादन तथा घरेलु वस्तुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवका मूल संयोजक छवि कँडेलका अनुसार सर्वसाधारणका लागि प्रवेश टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा सहभागी भएका विद्यार्थीहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

संघका अध्यक्ष तथा महोत्सव संरक्षक दीपक सापकोटाले महोत्सवले स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । संस्थागत रूपमा आयोजना गरिने मेला–महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उनको भनाइ छ । महोत्सव अवधिभर सहयोग गर्ने व्यक्ति तथा शोभायात्रामा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने विभिन्न संघ–संस्थालाई समापन समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट