गैँडाकोट, : नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक पुष्कल शर्मा सहभागी हुने भएका छन्।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आजको कार्यक्रममा पुष्कल शर्मासँगै कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायत कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
पुस २५ गतेदेखि सुरु भएको महोत्सव आज १५औँ दिनमा प्रवेश गरेको छ। हालसम्म करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गरिसकेको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपुरले जनाएको छ।
संघका वरिष्ठ सदस्य तथा महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट, बाल उद्यानसहित २५० भन्दा बढी स्टल रहेका छन्।
१६ दिनसम्म सञ्चालन हुने महोत्सवबाट २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको संघका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले जानकारी दिए। स्थानीय कृषि तथा उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग व्यक्ति तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा आएका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij