Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मिठो सुन्तलाले ल्यायो मुस्कान, चितवनका किसान मूल्य पाएपछि उत्साहित

मिठो सुन्तलाले ल्यायो मुस्कान, चितवनका किसान मूल्य पाएपछि उत्साहित

चितवन : जिल्लामा सुन्तलाखेती गर्ने किसान यस वर्ष राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतका वर्षको तुलनामा सुन्तलाको बजार मूल्य बढेपछि इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ क्षेत्रका किसानको अनुहारमा खुसी झल्किएको छ ।

इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोराका अनुसार यस वर्ष सुन्तला बोटबाटै प्रतिकिलो १०० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । “गत वर्ष मूल्य नपाउँदा निकै समस्या भयो, तर यसपालि राम्रो मूल्य पाएकाले खुसी छौँ,” उनले भने । उनका अनुसार किसानले सुन्तलालाई ग्रेडिङ (सानो, मझौला र ठूलो) गरेर बिक्री गर्दा उचित मूल्य पाउन सफल भएका छन् । एउटै वडाबाट मात्रै करिब ६० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको र अझै केही बिक्री गर्न बाँकी रहेको उनले बताए । माघ १५ गतेभित्र सबै सुन्तला बिक्री भइसक्ने अनुमान गरिएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ पनि यस वर्षको मूल्यप्रति सन्तुष्ट छन् । चेपाङ कृषि समूह बनाएर व्यावसायिक सुन्तलाखेती गर्दै आएका उनी भन्छन्, “हामीले सानो–सानो क्षेत्रफलमा खेती गरेका छौँ, तर मूल्य राम्रो पाएकाले सबै खुसी छौँ ।” अहिले व्यवसायीहरू बारीमै आएर सुन्तला खरिद गर्ने गरेका छन् ।

इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेलका अनुसार किसानले सुन्तलाको ग्रेडिङ गरेर बिक्री गर्न थालेपछि मूल्यमा सुधार आएको हो । यद्यपि यस वर्ष उत्पादन भने केही घटेको छ । ९२ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको इच्छाकामनामा यस वर्ष १,००२.८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो । रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादन घटे पनि मूल्य राम्रो पाएकाले किसान उत्साहित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनाको सुन्तला स्वादिलो भएकाले बजारको समस्या नभएको बताए । “नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा यहाँको सुन्तलाको माग उच्च छ, व्यवसायी बगैँचामै आएर खरिद गर्छन्,” उनले भने । गाउँपालिकाले सुन्तलाखेती प्रवद्र्धनका लागि निःशुल्क बिरुवा वितरण, तालिम र अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले सुन्तलामा लाग्ने रोग नियन्त्रणका लागि जैविक औषधि प्रयोग, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने तथा कृषि एम्बुलेन्समार्फत बजारसम्म उपज पुर्याउने व्यवस्था गरिएको बताए ।

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लामा १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । अझै केही स्थानमा सुन्तला टिप्न बाँकी रहेकाले कुल उत्पादन यकिन भइनसकेको भए पनि मूल्य राम्रो पाएकाले किसान सन्तुष्ट रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट