इजरायल : मध्य गाजामा भएको इजरायली आक्रमणमा तीन जना प्यालेस्टिनी पत्रकारको मृत्यु भएको उद्धारकर्मीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका अनुसार अल–जाह्रा क्षेत्रमा पत्रकार सवार कारलाई लक्षित गरी आक्रमण गरिएको थियो । मृत्यु हुनेमा मोहम्मद सलाह कश्ता, अनस घ्नाइम र अब्दुल राउफ शाआत रहेका छन् । उनीहरू इजिप्टियन राहत संस्थासँग आबद्ध भएर काम गरिरहेका थिए ।
पत्रकार संघ तथा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता संगठनहरूले पत्रकारमाथि भएको आक्रमणलाई युद्ध अपराध भन्दै निन्दा गरेका छन् । शाआतको मृत्युमा एएफपी समाचार संस्थाले गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । इजरायली सेनाले भने हमाससँग आबद्ध ड्रोन सञ्चालन गरिरहेका केही ‘सन्दिग्ध’लाई लक्षित गरी हमला गरिएको दाबी गरेको छ । यस घटनाबारे छानबिन भइरहेको सेनाको भनाइ छ ।
बुधबार नै गाजाका विभिन्न क्षेत्रमा इजरायली गोलाबारी र तोप आक्रमणमा थप आठ जनाको मृत्यु भएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये दुई जना बालबालिका रहेका छन् । रोयटर्सका अनुसार मध्य गाजामा ट्याङ्क आक्रमणमा १० वर्षका बालकसहित तीन जनाको मृत्यु भएको छ । दक्षिणी खान युनिस क्षेत्रमा भएको आक्रमणमा १३ वर्षका बालक र एक महिलाको ज्यान गएको छ ।
१० अक्टोबरमा युद्धविराम लागू भएपछि हालसम्म गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ४६६ जना प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यस अवधिमा प्यालेस्टिनी सशस्त्र समूहको आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij