Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘हेभीवेटसँगको लडाइँबाट आएको हुँ’ — सोबिता गौतमसँग सबै तरिङ्गित छन् ,तर म चाहिँ तरङ्गित छैन : रेनु दाहाल

‘हेभीवेटसँगको लडाइँबाट आएको हुँ’ — सोबिता गौतमसँग सबै तरिङ्गित छन् ,तर म चाहिँ तरङ्गित छैन : रेनु दाहाल

चितवन : आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य निर्वाचनबाट आफू नडराउने स्पष्ट पारेकी छिन्।

सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मेयर दाहालले यसपटकको निर्वाचनलाई लिएर आफू कत्ति पनि तरंगित नभएको बताइन्। यसअघि काठमाडौं–१ बाट हेभिवेट नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गरेको अनुभव स्मरण गर्दै उनले चुनावी प्रतिस्पर्धाबाट डर नलाग्ने उल्लेख गरिन्।

‘कसै न कसैसँग त भिड्नैपर्छ। हिजो पनि भिडेरै आएको हो। काठमाडौं–१ मा प्रकाशमान सिंहसँग भिडेको हो। त्यतिबेला पराजित भएँ, तर भिड्न डराउँदिन,’ दाहालले भनिन्, ‘सामान्य चुनावमा डराउने कुरा हुँदैन।’

चितवन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरिरहेको सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिक्रिया दिएकी हुन्।

‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन्। दुई जना नारीलाई यसरी भिडाउन नहुने भन्ने कुरा पनि आएका छन्। सोबिता उठ्दैछिन् रे भन्ने जिज्ञासा पनि छ,’ दाहालले भनिन्, ‘सबै जना तरंगित भएजस्तो देखिन्छ। तर म चाहिँ कत्ति पनि तरंगित छैन। कार्यसम्पादन र कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो।’

आगामी निर्वाचनमा चर्चित र प्रतिस्पर्धात्मक मानिएको चितवन क्षेत्र नम्बर–३ को चुनावलाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट