जुम्ला : लामो समयदेखि किसानले दाबी गरेको स्याउको बिमा रकम दिन आनाकानी गरिरहेको शिखर इन्स्योरेन्स कम्पनी र आन्दोलरत स्याउ बिमा पीडित किसानबीच ६ बुँदे सहमति भएको छ । स्याउ बिमा पीडित किसानहरु बोकेर काठमाडौं पुगेको तातोपानी गाउँपालिकाको जनप्रतिनिधिको टोलीले कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहबरमा बिमा विकास बोर्डका प्रतिनिधि, शिखर इन्स्योरेन्स कम्पनीका सिइओ र स्याउ बिमा पीडित किसानहरुबीच वार्ता गराएर ६ बुँदे सहमति गरेको हो।
स्याउ बिमा दाबी गर्दा मौसम मापन केन्द्रहरुमा भएको त्रुटि संशोधन गर्दै तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकालाई मध्यम खडेरी क्षेत्रको मूल्यांकन गर्ने सहमति भएको छ।
तातोपानी गाउँपालिकामा प्रतिविरुवा ४ सय र कनकासुन्दरी र पातारासी गाउँपालिकामा प्रतिविरुवा ३५० रुपैयाँ कायम गर्ने, सरकारबाट प्राप्त हुने अनुदान रकम पछि सोधभर्ना हुने गरी शिखर इन्स्योरेन्स कम्पनीले सबै किसानले पाउनु पर्ने अनुदान समेत रकम एकमुष्ट उपलब्ध गराउने, किसानद्वारा शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा लगाएको ताला आइतबारदेखि खोल्ने सहमति भएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।
पुनर्मूल्यांकन भई सहमति पत्रमा हस्ताक्षर भएको मितिले बढीमा १५ दिनभित्र दाबीका अपुग कागजात संकलन गरी तत्काल किसानहरुलाई चेक मार्फत दाबी रकम भुक्तानी गर्ने र स्थलगत निरीक्षण हुँदा मापदण्ड नपुगेका भनिएका जिल्लाभरीका बिरुवाको बिमा गर्दा भुक्तानी भएको प्रिमियम रकम किसानलाई फिर्ता गर्ने समेत सहमति भएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।
गत मंसिर २१ गते किसानहरुले जिल्ला प्रशासन कार्यालय मार्फत शिखर इन्स्योरेन्स कम्पनीलाई ज्ञापनपत्र प्रदान गरेका थिए । स्याउ किसान र बिमा कम्पनीका प्रतिनिधिबीच जिल्ला प्रशासनमा पटकपटक वार्ता तथा छलफल भए पनि सहमति हुनसकेको थिएन। स्याउ बिमा क्षति मूल्यांकन प्रतिविरुवा २४ रुपैयाँ कम्पनीले तोकेपछि किसानहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले बिमा प्रिमियम रकम प्रतिविरुवा ३८ रुपैयाँ तिरेका थिए ।
जिल्लामा समस्या समाधान हुन नसकेपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई नेतृत्वको टोली पुस २४ गते डेलिगेसनका लागि काठमाडौं पुगेको थियो । टोलीमा स्याउ बिमा पीडित किसानहरु र जनप्रतिनिधि सहभागी थिए । उनीहरुले कृषि तथा पशुपन्छी मन्त्रालयमा पुस २६ गतेदेखि धर्ना सुरु गरेका थिए।
गाउँपालिका अध्यक्ष चौलागाइँले तातोपानी गाउँपालिकाका ५११ जना किसानका ९७ हजार २ सय २० बिरुवा र पातारासी र कनकासुन्दरी गाउँपालिका बिमित किसाहरुका लागि यो सहमतिले राहत प्रदान गरेको बताए । बिमा कम्पनी र किसानबीच भएको ६ बुँदे सहमतिले स्याउ बिमा पीडित किसानहरु उत्साहित छन्।
स्याउ बिमा गरेको प्रिमियम रकम भन्दा क्षतिको रकम कम दिएको, मौसम मापन केन्द्रको रिर्पोट त्रुटिपूर्ण रहेको र सरकारले अनुदान रकम नदिएको भन्दै दाबी गरेको रकम दिन आनाकानी गरेको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij