चितवन: भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उद्घाटन गरिएको छ । ६ तले आधुनिक तथा आकर्षक भवनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् । नगर प्रमुख रेनु दाहालका अनुसार भवनको भुइँ तलाको इन्टेरियर कार्य सम्पन्न भइसकेपछि उद्घाटन गरिएको हो । माथिल्ला तलामा भने केही इन्टेरियरका काम बाँकी रहेको उनले जानकारी दिइन् ।
५३ करोड ३२ लाख ६४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनमा संघ, प्रदेश तथा स्थानीय तहको संयुक्त लगानी रहेको छ । संघीय सरकारबाट २१ करोड ५८ लाख १४ हजार रुपैयाँ, बागमती प्रदेश सरकारबाट १९ करोड ८९ लाख ३६ हजार रुपैयाँ तथा भरतपुर महानगरपालिकाबाट ४ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।
महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार निर्माण कार्य सुरु भएको करिब दुई वर्षमा भवन तयार गरिएको हो ।
भवन निर्माणका लागि पर्याप्त जग्गा नपुगेपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौतामार्फत थप गरिएको थियो । नगर प्रमुख दाहालले संघसँग जग्गा प्राप्त गर्ने प्रक्रिया निकै मेहनत र कठिनाइपूर्ण रहेको बताइन् । भवनको शिलान्यास २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij