चितवन : प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेकी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरको नेतृत्व सम्हालेपछि ९ वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहका उपलब्धि सार्वजनिक गरेकी छन् । आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा लिखित तथा भावुक मन्तव्य दिँदै प्रमुख दाहालले आफू निर्वाचित भएर आउनुअघि र त्यसपछि महानगरमा भएको परिवर्तन र प्रगतिबारे विस्तृत विवरण प्रस्तुत गरिन् । उनले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरिन् ।
प्रमुख दाहालका अनुसार पछिल्लो ९ वर्षमा महानगरभित्र १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको छ । उनले यो दूरी पूर्व–पश्चिम राजमार्गभन्दा लामो भएको दाबी गर्दै हाल नेपालकै सबैभन्दा लामो ८८.६ किलोमिटर चक्रपथ (रिङ रोड) निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको जानकारी दिइन् । शहरी सौन्दर्यीकरण तथा प्रविधिमैत्री सहर निर्माणतर्फ मुख्य बजार क्षेत्रमा २३ किलोमिटर विद्युत् तार भूमिगत गरिएको, २०६ किलोमिटर सडक बत्ती जडान गरिएको, ९१ वटा हाइमास्ट बत्ती र ४१८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताइन् ।
कृषि क्षेत्रतर्फ दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर ४ रुपैयाँ अनुदान दिने नीति कार्यान्वयन गरिएको र हालसम्म २२ करोड रुपैयाँ वितरण भइसकेको प्रमुख दाहालको भनाइ छ । सिँचाइका लागि नारायणी लिफ्ट सिँचाइ प्रणाली तथा ८ सयभन्दा बढी ट्युबवेलमार्फत झण्डै ८ हजार बिघा जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको उल्लेख गरिन् ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी संख्या वृद्धि भएको, छात्राहरूलाई साइकल वितरण गरिएको र स्वास्थ्यतर्फ महानगरका २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको उनले जानकारी दिइन् । भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकका लागि ओपिडी टिकट निःशुल्क गरिएको व्यवस्था पनि कार्यान्वयनमा रहेको बताइन् ।
नारायणी नदीमा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गरिएको र जंगली जनावरको आक्रमण रोक्न ३६ किलोमिटर लामो मेस जाली (तारबार) लगाइएको पनि उनको दाबी छ । साथै पुङ्गी र केरुङ्गा खोलाको अतिक्रमण हटाई पर्यटकीय पदमार्ग तथा पार्कका रूपमा विकास गरिएको जानकारी दिइन् । खानेपानीतर्फ महानगरका ९८ प्रतिशत नागरिकमा शुद्ध पिउने पानीको पहुँच पुगेको र मासिक ७ हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्तालाई निःशुल्क व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।
कार्यसम्पादनका आधारमा भरतपुर महानगर देशकै उत्कृष्ट घोषित भएको उल्लेख गर्दै उनले महानगरको आन्तरिक आम्दानी १ अर्ब ४० करोड रुपैयाँ पुगेको दाबी गरिन् ।
कार्यक्रममा बोल्दै प्रमुख दाहालले विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचनमा जनताको साथ र विश्वास आवश्यक रहेको बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij