Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुति

आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुति

गैँडाकोट : नवलपुरको नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक श्रीकृष्ण बम मल्लसहित विभिन्न कलाकारहरूको प्रस्तुति रहने भएको छ।

महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार शुक्रबार आयोजना हुने कार्यक्रममा श्रीकृष्ण बम मल्लसँगै लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। पछिल्ला दिनहरूमा महोत्सवप्रति दर्शकको आकर्षण बढ्दै गएको लम्सालले बताए। स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवअन्तर्गत भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो।

स्थानीय कृषि तथा उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवका सचिवालय संयोजक तथा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तेजनारायण पाण्डेले जानकारी दिए। उनका अनुसार महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्ग व्यक्तिहरू र शैक्षिक संस्थाबाट संस्थागत रूपमा सहभागी विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको पाण्डेले बताए।

महोत्सवमा ओपेरा हाउस, जलपरी र मुस्ताङको चौरी आकर्षणका केन्द्र बनेका छन्। संघका वरिष्ठ सदस्य तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट तथा व्यापारिक गरी २५० स्टलका साथै बालउद्यान समेत रहेका छन्। महोत्सवले स्थानीय कृषि तथा उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट