Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

झापा–५ मा बालेन आए ओलीको मतान्तर बढ्छ : अध्यक्ष गिरी

झापा–५ मा बालेन आए ओलीको मतान्तर बढ्छ : अध्यक्ष गिरी

झापा : नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा चुनाव लड्न बालेन शाह आए केपी शर्मा ओली अझ धेरै मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

एमाले पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ । मंगलबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा– ५ मा बालेन आएपनि एमालेलाई केही फरक नपर्ने पनि बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन । हामीले जनताको काम गरेका छौँ’, जनताको काम गर्नेलाई मतदाताले मत दिन्छन् ।

गिरीले बालेन झापाबाट उम्मेदवार बन्नेमा आफूलाई विश्वास नलागेको भन्दै आइहाले पनि फरक नपर्ने बताएका हुन् । अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृश्य शक्तिले जबरजस्त मिलाएको दाबी पनि गरेका छन् । ‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्विकार्न सक्दैन । रास्वपाले बालेनको राजनीति झापाबाटै सिद्ध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन्’, अध्यक्ष गिरीको भनाइ छ ।

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए ।

एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट