गैँडाकोट : नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहित विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति हुने भएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज मंगलबार आयोजना हुने सांस्कृतिक कार्यक्रममा अर्जुन सापकोटासँगै सपना रोक्का र भरत क्षेत्रीको प्रस्तुति रहनेछ । आजको कार्यक्रमको सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्नेछन् ।
त्यसैगरी महोत्सव अन्तर्गत आजै भजन प्रतियोगिता पनि आयोजना हुँदैछ । महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार भजन प्रतियोगितामा विभिन्न क्षेत्रबाट १८ टिम सहभागी भएका छन्, जसमध्ये आठ टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
मौलाकालिका मन्दिरको प्रतीक झल्किने गेट निर्माण गरिएको महोत्सवको मुख्य आकर्षणका रूपमा जलपरी र ओपेरा हाउस रहेका छन् । यसपटकको महोत्सवले स्थानीय कृषि उत्पादनको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको सापकोटाले बताए । महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टल, व्यावसायिक स्टल, कृषि प्रदर्शनी, रेष्टुरेन्ट र बाल उद्यानसमेत रहेका छन् ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेका अनुसार महोत्सवमा मुस्ताङबाट ल्याइएको ‘याक’ पनि प्रदर्शनीमा राखिएको छ । दर्शकहरूले याकमाथि चढेर फोटो तथा भिडियो खिच्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब २५० स्टल रहेका छन् । महोत्सवमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको पाण्डेले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा सहभागी विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव परिसरको सुरक्षाका लागि आन्तरिक तथा बाह्य सुरक्षाकर्मी परिचालन गरिएको छ भने सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको पाण्डेले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij