पर्सा : पर्सा जिल्लाको ग्रामीण तथा सीमावर्ती क्षेत्रमा पर्ने प्रसौनीभाठा नाकासहित विभिन्न नाकाबाट हुने अवैध तस्करी गतिविधि नियन्त्रण हुन नसकेको भन्दै स्थानीयवासीहरूले चासो र चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार पछिल्लो समय तस्करीसँग सम्बन्धित गतिविधि र संलग्न व्यक्तिहरूको संख्यामा वृद्धि देखिन थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रयास गर्दै आए पनि अपेक्षित सफलता हासिल हुन नसकेको स्थानीयको बुझाइ छ। विभिन्न घटनाक्रम र प्राप्त सूचनाले पर्साका केही नाकाहरूमा अवैध कारोबार सक्रिय रहेको संकेत गर्ने स्थानीय बताउँछन्।
स्थानीयका अनुसार दिनको समयमा अपेक्षाकृत शान्त देखिने प्रसौनी नाका तथा अन्य नाकाहरू रातिको समयमा अवैध ओसारपसारका गतिविधि बढ्ने गरेको देखिन्छ। यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि केही समय गतिविधि न्यून देखिए पनि पछिल्लो समय पुनः सक्रियता बढेको स्थानीयको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूले वीरगञ्ज क्षेत्रभित्र गोदाम तथा सवारी साधनमा अनुगमन तथा छापामारी गर्दै अवैध रूपमा भित्र्याइएका सामान बरामद गरिरहेको जनाइएको छ। यद्यपि, सीमावर्ती केही नाकाहरूमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) कार्यरत रहे पनि अवैध तस्करीका गतिविधि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्थानीयको गुनासो छ।
पछिल्लो समय प्राप्त जानकारीअनुसार बुडगाई, टिहुकी, ड्राइपोर्ट, अमरपट्टी र भिश्वा नाकाबाट अवैध रूपमा सामान ओसारपसार हुने गतिविधि देखिन थालेका छन्। बुडगाई र टिहुकी नाकाबाट भारतीय मूलका धान तथा सख्खर नेपाल भित्रिने गरेको स्थानीय स्रोतको भनाइ छ। यस विषयमा सम्बन्धित निकायको निगरानी प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ।
त्यसैगरी ड्राइपोर्ट नाकाबाट कपडालगायतका सामानको अवैध ओसारपसार तथा भिश्वा नाकाबाट विभिन्न प्रकारका सामग्रीहरू भित्रिने गरेको स्थानीयले बताएका छन्। भिश्वा क्षेत्रमा २५–३० जना व्यक्तिहरू प्रयोग गरी भरियामार्फत सामान ओसार्ने गरिएको जानकारी समेत प्राप्त भएको छ।
भिश्वा, ड्राइपोर्ट, जानकीटोला, प्रसौनी, अमरपट्टी लगायतका नाकाबाट हाल राँगा–भैँसी, खाद्यान्न, काजु, मोटर पार्ट्स, कपडा लगायतका सामान अवैध रूपमा ओसारपसार भइरहेको स्थानीय स्रोतले जनाएको छ। यसरी भइरहेका गतिविधिप्रति सम्बन्धित सुरक्षा निकायको निगरानी थप प्रभावकारी हुनुपर्ने स्थानीयको माग छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले सीमावर्ती नाका तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक निर्देशन दिएको बताइए पनि अवैध तस्करीसम्बन्धी गुनासोहरू पूर्ण रूपमा समाधान हुन नसकेको स्थानीयको भनाइ छ।
यसैबीच पर्साका अन्य केही नाकाबाट रक्सी, माछा, कबाड, लागुऔषध, कपडा, मोटर पार्ट्स, किराना, हार्डवेयर तथा कम्प्युटर पार्ट्सको अवैध ओसारपसार भइरहेको विषयमा पनि स्थानीयस्तरमा चर्चा भइरहेको छ।
स्थानीयवासीहरूले अवैध तस्करीका यस्ता गतिविधिले राज्यको राजस्व, स्थानीय व्यवसाय र सुरक्षा व्यवस्थामा असर परेको भन्दै सम्बन्धित माथिल्लो निकायको ध्यानाकर्षण गराउँदै निष्पक्ष अनुगमन, छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij