काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।
तर संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोइराला पक्षधर नेताहरूले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोइरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए ।
शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरूसँग आफूले पहल गर्ने कोइरालाले बताउनुभएकाे जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।
उनले भने, ‘पार्टी फुटको सङ्घारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोइरालाले आत्मसमर्पण गरे भन्ने ढङ्गले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेन्डा त हाम्रै हो नि ।’
उनले डा. शेखर कोइराला कांग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला कांग्रेसको सभापति बन्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij