भैरहवा : रुपन्देहीको सियारी गाउँपालिकामा उत्पादित माछाको ब्राण्डिङका लागि महोत्सवको तयारी गरिएको छ । मुलुकमै धेरै माछा उत्पादन हुने पालिका भएकाले कृषकलाई थप प्रोत्साहित गर्न र बजारीकरणका लागि महोत्सव गर्न लागिएको सियारी गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आइतबार आयोजना गरिएको छलफलमा महोत्सवमा माछासँगै सियारीका अन्य कृषि उपज र दुग्ध जन्य पदार्थको पनि प्रवर्द्धन गरिने जानकारी गराइएको हो।
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले माछापालनले नै पालिकालाई मुलुकभर चिनाएकाले यस्ता उत्पादनको प्रवर्द्धनकालागि महोत्सव गर्न लागिएको जनाए। उनका अनुसार अहिले पनि यहाँका माछाले मुलुकमा हुने कुल उत्पादनको २५ प्रतिशत ओगटिरहेको जनाए। ‘यहाँ तयार हुने माछाका परिकार पनि लोकप्रिय भइरहेका छन,’ उनले भने, ‘माछाका सुकुटी, अचार खान धेरै आउँछन् ।’
पालिकाले माछालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्नकालागि प्रबर्द्धनात्मक कार्यक्रम गर्ने सोच बनाएको बताए। अहिले बिदेशबाट प्याकेटमा माछा मुलुक भित्रिरहेको जनाउँदै उनले यहीँ उद्योग सञ्चालन गरेर यहाँका माछा बिदेश पठाउने उद्देश्य रहेको बताए । ‘महोत्सवमा माछालाई फोकस गर्ने लक्ष्य छ,’ उनले भने, ‘साथै अन्य कृषि उत्पादनको पनि प्रवर्द्धन गरिनेछ ।’
ग्रामीण क्षेत्रमा हुन लागेको महोत्सवको सहआयोजकका रुपमा उद्योग वाणिज्य संघ बुटवल रहेको छ। संघले महोत्सवलाई व्यवस्थित तुल्याउन र प्रवर्द्धनमा सघाउने छ । उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालले माघ पहिलो साता महोत्सव आयोजना गर्ने तयारी भए पनि मौसमलगायत कारण केही पर धकेलिने जनाए। ‘माछा र माछाका परिकारको प्रवर्द्धन गर्ने हो,’उनले भने, ‘संघका पदाधिकारीले खटिएरै महोत्सव सफल बनाउने छन् ।’
पालिकामा सञ्चालन भइरहेको माछा जोन कार्यक्रमका मत्स्य विकास अधिकृत शोभाखर पाण्डेले गाउँपालिकाभित्र १ हजार २४७ हेक्टर जलासय रहेको बताए । त्यसमध्ये १ हजार १ सय १२ हेक्टर माछा जोन कार्यत्रम अन्तर्गत रहेको छ । ‘अहिले यहाँका किसान उत्पादनसित रमाइरहेका छन्,’ उनले भने, ‘अब उनीहरुका उत्पादनको बजारीकरण जरुरी छ ।’ पालिकामा माछा उत्पादनका लागि मत्स्य विकास अधिकृतको पनि कमी रहेको उनले बताए। अब किसानलाई मत्स्य बजारसित जोड्नु पर्ने उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सियारी गाउँपालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको जनाए । ‘किसानलाई अझैं उत्प्रेरित गर्न महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गाउँपालिकाले माछाको ब्राण्डिङ गर्न भूमिका खेल्दै आएको छ । यसलाई अझै प्रभावकारी तुल्याउन पालिका भित्रको कृषि क्षेत्र समेटेर महोत्सव गर्न लागेका हौं ।’ छलफलमा पालिकाका वडाध्यक्ष, माछा उत्पादक किसान, पर्यटन व्यवसायी, सहकारीका सदस्य, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा र सर्वसाधरण सहभागी थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij