Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शेरबहादुरले तानाशाही प्रवृति देखाएपछि गगन-विश्वलाई साथ दिने निर्णय गरेँ : पूर्वउपसभापति श्रेष्ठ

शेरबहादुरले तानाशाही प्रवृति देखाएपछि गगन-विश्वलाई साथ दिने निर्णय गरेँ : पूर्वउपसभापति श्रेष्ठ

काठमाडौँ : पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएपछि पनि सभापति शेरबहादुर देउवाले तानाशाही प्रवृति देखाउन थालेपछि आफू विशेष महाधिवेशनको पक्षमा लागेको पूर्वउपसभापति गोपालमान श्रेष्ठले बताएका छन् ।

शनिबार कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले अब कांग्रेसमा तानाशाही प्रवृति नचल्ने भन्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । 'सभापति देउवाले मेरो सिग्नेचर चल्छ कसले के गर्छ भनि तानाशाही प्रवृति देखाउन थालेपछि मेरो मनले मानेन । त्यसैले मैले महामन्त्री गगन र विश्वलाई साथ दिने निर्णय गरेँ । मैले आह्वान गरेको छु सबैलाई, विशेष अधिवेशन सफल पार्न आग्रह गरेको छु,' श्रेष्ठले भने ।

पार्टीमा देउवाको तानाशाही सहि नसक्नुको भएको पनि श्रेष्ठको भनाइ छ । 'उहाँको तानाशाही सही नसक्नु भयो । उहाँलाई चेतना अझै आएको छैन । चेतना आएको पाइनँ । के-केको घमण्ड छ थाहा छैन । साथी भाइको कुरा नसुन्ने, आफ्नै कुरा गर्ने,' श्रेष्ठले भने ।

महामन्त्री गगन थापासँग छलफल गरेर विशेष महाधिवेशनको पक्षमा उभिने र सहयोग गर्ने निर्णयमा पुगेको श्रेष्ठले बताए । 'गगनजीसँग मेरो निवासमा १ घण्टा छलफल गरेर विशेष महाधिवेशनमा सहयोग गर्ने निर्णय लिए । अब यिनीहरूबाटै पार्टीको सबै कुरा अगाडि बढोस्,' श्रेष्ठले भने । पार्टी सभापतिबाट देउवाले राजीनामा दिनुपर्ने पनि श्रेष्ठको माग छ ।

'शेरबहादुर देउवाले राजीनामा दिनुपर्छ । सक्रिय राजनीतिबाट राजीनामा दिएर बस्नुपर्छ,' श्रेष्ठले भने, 'मैले जे चाह्यो त्यै हुन्छ भन्ने भयो भने हुन्न । शेरबहादुरले कार्यवाहक सभापति र अरु पदाधिकरीलाई राखेर राजनीतिबाट अलग भए तपाईंहरू सल्लाह गरेर अगाडि बढ्नुस् भन्यो भने भोलि हुने विशेष महाधिवेशन नीति महाधिवेशन वा आगामी चुनावको घोषणापत्र महाधिवेशन हुनसक्छ ।'

देउवाले पार्टी सभापतिबाट राजीनामा नदिए विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि श्रेष्ठको माग छ । 'त्यो भएन भने विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्यो । अब पनि किन छाड्ने ?,' श्रेष्ठले भने ।

गोपालमान श्रेष्ठले कांग्रेसमा सधै देउवालाई साथ दिँदै आएका थिए । अहिले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिने नाटक गरेको र सिंगापुरबाट पनि सुध्रिएर नआएपछि दिक्का लागेर विशेष महाधिवेशनको पक्षमा उभिएको श्रेष्ठले बताए ।

देउवालाई विगतमा दिएको साथका लागि अहिले आफूलाई पछुतो भइरहेको पनि श्रेष्ठले बताए । 'मैले शेरबहादुरलाई धेरै पहिलेदेखि साथ, सहयोग दिए । आफत-विपत पर्दा काम गरेँ । अहिले पछुतो लागेको छ,' श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट