Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भेनेजुएलामाथिको अमेरिकी आक्रमण र हस्तक्षेपप्रति एमालेको आपत्ति

भेनेजुएलामाथिको अमेरिकी आक्रमण र हस्तक्षेपप्रति एमालेको आपत्ति

काठमाडौँ : नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र चलाइएको मुद्दा अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशील र अन्तर्राष्ट्रिय न्याय र उत्तरदायित्वको विपरीत ठहर गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको भन्दै भेनेजुएलामाथिको आक्रमणको भर्त्सना गरेका हुन् ।

‘नेकपा (एमाले) हालै भेनेजुएलामा गरिएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र उनलाई अमेरिकामा चलाइएको मुद्दा अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील र अन्तर्राष्ट्रिय न्याय र उत्तरदायित्वको विपरीत ठहर गर्दछ र यसको विरोध गर्दछ’, अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसैगरी हालै युक्रेनको भौगोलिक अखण्डता विभाजित हुने गरी उसको अनुपस्थितिमा भइरहेका छलफल, ग्रिनल्याण्डलाई नियन्त्रणमा लिने प्रयास र युद्धविरामका बाबजुद गाजा र वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतीप्रति आपत्ति प्रकट गर्दछ ।’

एमाले अध्यक्ष ओलीले विश्व परिस्थितिमा देखा परेका पछिल्ला घटनाक्रम सम्बन्धमा धारणा राख्दै विश्व राजनीति तरल, पूर्वानुमान गर्नै नसकिने र जोखिमपूर्ण बन्दै गइरहेको बताएका छन् ।

‘नियममा आधारित प्रणाली निष्प्रभावी हुँदै गएको छ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गइरहेका छन्’, ओलीले भनेका छन्– ‘संयुक्त राष्ट्रसङ्घको भूमिका तथा त्यसको नेतृत्वमा सञ्चालित सहयोग र पारस्परिक सम्मानका सिद्धान्तहरू कमजोर बनाइएका छन् ।’

उनले शक्ति राष्ट्रको प्रतिस्पर्धा अस्वस्थ ढङ्गले बढिरहेको कुनै सार्वभौम राष्ट्रको भूभागबारे उसको अनुपस्थितिमै निर्णय हुने गरेको तथा कुनै सार्वभौम राष्ट्रका राष्ट्राध्यक्ष या नेताहरूलाई लक्षित गरेर अर्को देशले सिधै हत्याको धम्की दिने, अपहरण गर्ने गतिविधिको निन्दा गरेका छन् ।

‘एकातिर आतङ्कवादको डरलाग्दो आक्रमण र अर्कोतिर त्यसलाई नियन्त्रण गर्ने नाममा हजारौँ निर्दोष व्यक्ति, बालबालिका र महिलाहरूको नरसंहार हुने जस्ता घटना देखा परेका छन्’, ओलीले भनेका छन् ‘कृत्रिम बौद्धिकता र सूचना प्रविधिको बढ्दो सामरिक प्रयोगले नयाँ प्रकारको असुरक्षा र तनाव उत्पन्न भइरहेको छ । जलवायु सङ्कट जस्ता नयाँ चुनौतीले मानव जातिको अस्तित्वमै खतरा पैदा गर्न थालेका छन् । ’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट