Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अवैध पोल्ट्रीजन्य वस्तुको तस्करी रोक्न गृहमन्त्रीको ध्यानाकर्षण

अवैध पोल्ट्रीजन्य वस्तुको तस्करी रोक्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ : नेपालको पोल्ट्री क्षेत्रमा भारतीय सीमा नाकाबाट अवैध रूपमा भइरहेको चोरी पैठारी नियन्त्रण गर्न पोल्ट्री व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहिबार नेपाल लेयर्स कुखुरापालक संघ, नेपाल ह्याचरी उद्योग संघ र नेपाल दाना उद्योग संघको संयुक्त प्रतिनिधिमण्डलले सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो।

भेटका क्रममा व्यवसायीहरूले खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिने सेतो अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासुका कारण स्वदेशी पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको गुनासो गरेका छन्। अवैध आयातकै कारण नेपाली किसान तथा उद्योगीहरूको लगानी जोखिममा परेको उनीहरूको भनाइ छ।

प्रतिनिधिमण्डलले सीमा नाकामा कडाइ गरी अवैध आयात पूर्ण रूपमा नियन्त्रण गर्न गृह प्रशासनको प्रभावकारी भूमिका आवश्यक रहेकोमा जोड दिएको छ। साथै अर्बौँ रुपैयाँको लगानी रहेको स्वदेशी पोल्ट्री उद्योगको संरक्षणका लागि राज्यले विशेष नीति तथा कदम चाल्नुपर्ने माग राखिएको छ। अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुबाट रोग फैलिने तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्ने विषयमा पनि गृहमन्त्रीलाई अवगत गराइएको थियो।

भेटमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष राजेन्द्र लामिछाने र नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष रबिन पुरी सहभागी थिए। यस्तै, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, महासचिव नवराज पौडेल, नेपाल लेयर्स कुखुरापालक संघका उपाध्यक्षद्वय ज्योतिन्द्र श्रेष्ठ र अमोद खनाल, महासचिव भेषराज अर्याल, सचिव मदन चिरञ्जीवी पोखरेल तथा कोषाध्यक्ष प्रकाश चापागाईंलगायत पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij