Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ट्राफिक सचेतना सप्ताह-२०८२: रक्तदानबाट कार्यक्रमको औपचारिक सुरुवात

ट्राफिक सचेतना सप्ताह-२०८२: रक्तदानबाट कार्यक्रमको औपचारिक सुरुवात

काठमाडौं : दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सचेतना सप्ताह–२०८२ सुरू गरेको छ । २६ गतेदेखि माघ ३ गतेसम्म हुने सञ्चालन ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ को औपचारिक सुरुवात शुक्रबार रक्तदान कार्यक्रममार्फत गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी प्रहरी कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका छन्। कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले रक्तदान मानव जीवन बचाउने अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गरे। ट्राफिक दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उपचारका क्रममा रगतको अभाव नहोस् भन्ने उद्देश्यले ट्राफिक सप्ताहको सुरुवात नै रक्तदान कार्यक्रमबाट गरिएको उनले बताए।

एसएसपी अधिकारीले उपत्यकामा सवारी साधनको अत्यधिक चाप, सीमित तथा अव्यवस्थित सडक संरचना, चालकको लापरवाही, ट्राफिक नियम उल्लङ्घन, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता कारणले दुर्घटनाको जोखिम बढ्दै गएको बताए।

यसैलाई मध्यनजर गर्दै एक सातासम्म सञ्चालन हुने ट्राफिक सप्ताहमार्फत दुर्घटनाका कारण, त्यसले पार्ने सामाजिक तथा आर्थिक प्रभाव र समाधानका उपायबारे जनचेतना फैलाइने उनको भनाइ थियो।

ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक सचेतना कक्षा, विद्यालय तथा कलेज केन्द्रित कार्यक्रम, सवारी चालक तथा सह–चालकसँग अन्तरक्रिया, पैदल यात्रु सचेतना, सवारी साधन चेकजाँच, नियम उल्लङ्घन न्यूनीकरण अभियान, प्रचार–प्रसार सामग्री वितरण लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट