काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस १८ गते केन्द्रीय कार्यसम्पादन समितिले पुस २६–२८ गते गर्न लागेको नियमित महाधिवेशनको मिति परिवर्तन गरी वैशाख २८–३१ गते गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
सहमहामन्त्री फरमुल्लाह मन्सुर र कार्यसम्पादन समिति सदस्यहरू अर्जुननरसिंह केसी पनि उक्त निर्णयमा असहमति जनाउनेमध्ये थिए। बैठकपछि महामन्त्री थापाले अब विशेष महाधिवेशन अपरिहार्य भएको भन्दै पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने स्पष्ट संकेत गरेका थिए।
महामन्त्री थापा र शर्माको निर्देशनमा, २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै पत्र बुझाएका थिए। पार्टीको विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेपछि ३ महिनाभित्र उक्त महाधिवेशन बोलाउन सकिने व्यवस्था छ।
यसै व्यवस्थालाई ध्यानमा राख्दै महामन्त्रीद्वयले पुस मसान्तभित्रै विशेष महाधिवेशन घोषणा गर्ने योजना बनाएका हुन्।
महाधिवेशन पक्षधरहरूले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। तर, सम्मेलनमा महामन्त्री थापा, शर्मा, सहमहामन्त्री मन्सुर र कार्यसम्पादन समिति सदस्य केसी तथा रेग्मी देखिएका छैनन्।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी तथा काठमाडौँ जिल्ला सभापति सवुज बानियाँ उपस्थित थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij