चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानेले सुरु गरेको महिला लक्षित ‘ब्लू बस’ डेढ महिना अघि बन्द भएको छ।

२०८० साउनदेखि कालिका नगरपालिका हुँदै भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालनमा आएको उक्त बस मासिक भाडा र मर्मत खर्च बढी भएपछि बन्द गरिएको हो।
स्रोतका अनुसार पहिले बस भाडामा लिएर सञ्चालन गर्दा खर्च बढी भएकाले लामिछानेले आफैंको सचिवालयमार्फत बस किनेका थिए। ७ लाख रुपैयाँमा खरीद गरिएको बस पनि बारम्बार बिग्रिएपछि सेवा अब स्थगित गरिएको छ। अब बस कबाडीमा दिने वा पुनः सञ्चालन गर्ने विषयमा सल्लाह भइरहेको छ।
साथै, लामिछानेले खोल्ने प्रयास गरेका सचिवालय र मोवाइल क्लिनिक पनि दीर्घकालीन सञ्चालनमा टिक्न सकेका छैनन्। पुरानो मेडिकल कलेजले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर सञ्चालन गरिएको मोवाइल क्लिनिक विवादमा परेपछि डेढ वर्षअघि बन्द भएको थियो।
स्रोतका अनुसार सचिवालयको उद्देश्य जनताका समस्या सुन्न र विकास निर्माण कार्यमा समन्वय गर्नु रहेको थियो, तर प्रमुख कार्यकारी अधिकृत समेत बाहिरिएपछि सञ्चालन सुस्त छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij