काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी केही महिनामा देशभर वर्षा सामान्यभन्दा कम हुने अनुमान सार्वजनिक गरेको छ। विभागका अनुसार यही पुस १७ देखि फागुन १६ गतेसम्मको अवधिमा अधिकांश भूभागमा वर्षा कम हुने सम्भावना बढी छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले भने, “गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा मापन भएको थियो। आउँदा दिनमा पनि कम वर्षाको अवस्था रहन सक्ने देखिन्छ।”
विशेषगरी सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरतर्फका भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशको मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा वर्षा कम हुने सम्भावना ५५–६५ प्रतिशत रहेको छ। बाँकी भूभागमा कम वर्षा हुने सम्भावना ३५–४५ प्रतिशत रहेको छ।
विभागले यस आकलन तयार गर्दा विश्व मौसम सङ्गठनका डेटा, एल निनो र इन्डियन ओसन डिप्लोइक (IOD) को हालको अवस्थालाई ध्यानमा राखेको छ। हाल प्रशान्त महासागरमा लानिनाको अवस्था तटस्थतर्फ गइरहेको छ भने हिन्द महासागरमा IOD पनि तटस्थ अवस्थामा रहने अनुमान गरिएको छ।
कायस्थले भने, “ऋतुगत जलवायुमा समुद्र, वायुमण्डलीय प्रणाली र भूउपयोगको प्रभाव धेरै हुन्छ। यसकारण जलवायु प्रारुपको पूर्वानुमान पूर्ण रूपमा विश्वसनीय बनाउन कठिन हुन्छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij