Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरीको छापा, ६ विदेशीसहित ९ जना पक्राउ

अन्डरग्राउण्ड म्युजिकल पार्टीमा प्रहरीको छापा, ६ विदेशीसहित ९ जना पक्राउ


काठमाडौँ : ललितपुरको गोदावरीस्थित एक रिसोर्टमा चलिरहेको ’अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारी लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले ६ जना विदेशी र ३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीले शुक्रबार विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार दक्षिण भारतका आयोजक र केही नेपालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. २, बिशंखुनारायणस्थित एक रिसोर्टमा ’महामाया मन्त्र इभेन्ट’को नाममा ७२ घण्टासम्म निरन्तर चल्ने पार्टी आयोजना भइरहेको थियो।

उक्त पार्टीमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। सो क्रममा प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए १ पिस र म्याजिक मसरुम ४ ग्राम बरामद गरेको जनाएको छ।

प्रहरीले पार्टीबाट ५ जना भारतीय, १ जना ग्रिसका र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत केरलाका २१ वर्षीय केभिन जोसेफ, २८ वर्षीय सादिक, २३ वर्षीय आश्विन अन्टु, २८ वर्षीय वैष्णव के साजु र हैदरावादका २६ वर्षीय अभिराज कुथाडी रहेका छन्। त्यस्तै, ग्रिसका २१ वर्षीय नागरिक डिमिट्रिओस काट्टोस पनि पक्राउ परेका छन्।

नेपाली नागरिकहरूमा चितवन भण्डाराका ३० वर्षीय पुष्पराज परियार, मोरङ विराटनगरका २५ वर्षीय मनसुन न्यौपाने र काठमाडौँ नक्सालका ४० वर्षीय आदित्य अर्याल रहेका छन् । पक्राउ परेका सबै प्रतिवादीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट