काठमाडौँ : सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको गोली लागेर मृत्यु भएको विषयमा सशस्त्र प्रहरी बलले छानबिन थालेको छ । अटो रिक्सा चलाएर गुजारा चलाउँदै आएका साहको बुधबार मध्यराति सशस्त्र प्रहरीको टोलीले चलाएको गोलीले लागेर मृत्यु भएको थियो । त्यसपछि घटनाको निष्पक्ष न्यायको माग गर्दै स्थानीयले बिहीबार दिनभर प्रदर्शनसमेत गरेका थिए ।
त्यसपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजीतको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको छ । ‘समितिमा कोशी प्रदेश नं. १ बाहिनीको एसपी दिनेश बस्नेत र सशस्त्र प्रहरीको कानुन निर्देशनालयको डीएसपी भुवन भण्डारी हुनुहुन्छ,’ सशस्त्र प्रहरी बलका सहसप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘समितिलाई घटना कसरी भयो भन्ने विषय सत्यतथ्य छानबिन गरेर यथाशिघ्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।’
घटनापछि सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी निर्मलकुमार थापा, सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी गणेशदत्त पाण्डे र बोओपीका प्रहरी निरीक्षक मनिषकुमार कटुवाललाई तत्काललाई जिम्मेवारीबाट हटाइएको छ । ‘उहाँहरुलाई अहिलेलाई छानबिनका लागि १ नम्बर बाहिनी ल्याइएको मात्रै हो,’ डीएसपी थापाले कान्तिपुरसँग भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij