Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बन्दसूचीमा नातेदार राखिएको आरोप अस्वीकार गर्दै कुलमान घिसिङको स्पष्टोक्ति

बन्दसूचीमा नातेदार राखिएको आरोप अस्वीकार गर्दै कुलमान घिसिङको स्पष्टोक्ति

काठमाडौं : सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध भएका कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बुझाइएको समानुपातिक बन्दसूचीमा आफ्ना नातेदार समावेश गरिएको भन्ने आरोप असत्य भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै घिसिङले ‘भान्जा’ र ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्तिहरू आफ्नो पारिवारिक नातामा नपर्ने स्पष्ट पारेका हुन्। उनका अनुसार भान्जा भनिएका व्यक्ति न त उनका भान्जा हुन्, न त उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस भएर सूचीमा परेका हुन्। ती व्यक्ति अर्कै समूहबाट सिफारिस भई समावेश भएको उनको दाबी छ। त्यस्तै, समानुपातिक बन्दसूचीमा रहेका र ‘ससुरा’ भनेर चर्चा गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको उनले बताएका छन्।

‘मेरा भान्जा र ससुरालाई बन्दसूचीमा राखिएको भन्ने प्रचार पूर्णतः भ्रामक छ,’ घिसिङले लेखेका छन्, ‘उक्त दाबीले सत्यसँग कुनै सम्बन्ध राख्दैन।’ मन्त्री घिसिङले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र सामूहिक निर्णयमा आधारित रहेको उल्लेख गर्दै कुनै व्यक्ति विशेषको प्रभाव वा दबाबमा सूची नबनाइएको दाबी गरेका छन्।

सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद र कृपावादविरुद्ध आफू दृढतापूर्वक उभिँदै आएको स्मरण गराउँदै उनले आफ्नो राजनीतिक छविलाई कमजोर बनाउने उद्देश्यले योजनाबद्ध रूपमा हल्ला फैलाइएको आरोप लगाएका छन् । साथै, बन्दसूचीमा देखिएका केही प्राविधिक कमजोरीहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट