काठमाडौँ : नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको बताएका छन् । नेकपा (एमाले) काठमाडौँ महानगरपालिका कमिटीको आठौँ पूर्ण बैठकमा मंगलबार बोल्दै भट्टराईले संविधानका धाराहरू मिचिएकाले प्रतिकूलतातिर गइरहेको देशलाई अनुकूलतातर्फ ल्याउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।
देशलाई सहज बाटोतर्फ लैजान अहिलेको अवस्थामा संसद् पुनर्स्थापना नै उचित विकल्प भएको उनको भनाइ छ । जनताले त्याग, तपस्या र बलिदान गरेर बनाएको संविधानलाई मास्न नदिन पनि संसद् पुनर्स्थापना गर्नुपर्ने भट्टराईको तर्क छ ।
प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन संविधानको धारा मिचेर गरिएको उनको भनाइ छ । त्यसैले संसद् पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार बनाएर जेनजीका जायज माग पूरा गर्न सकिने भट्टराईले बताए । सर्वपक्षीय सरकारले संविधान संशोधन गर्न सकिने र त्यसपछि निर्वाचनमा जान सकिने एमालेको ठहर रहेको उनले सुनाए । यसो गर्न सके लोकतन्त्र र संविधान जोगिने उनको भनाइ छ ।
निर्वाचनका कार्यक्रमतर्फ पनि एमाले संलग्न भएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले एमालेको आफ्नो मान्यतामा अडिग रहे पनि निर्वाचन बहिष्कार गर्न नहुने भएकाले सोहीअनुसार अघि बढेको दाबी गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij