चितवन : प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ।
प्रेस काउन्सिल नेपालद्वारा आइतबार भरतपुरमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो।

“पत्रकारिता पेशा अहिले समस्यामा छ भन्ने कुरा म बुझ्छु,” उहाँले भन्नुभयो, “यदि वर्गीकरण वा अन्य विषयमा कमजोरी छन् भने सुधार गर्न हामी तयार छौँ।” पत्रकारितामा विकृति बढ्दै गएकाले काउन्सिलमा उजुरीसमेत परिरहेको उल्लेख गर्दै उहाँले पत्रकारले कुनै पनि राजनीतिक दल वा संगठनको सदस्यता लिएर पत्रकारिता गर्न नपाउने स्पष्ट गर्नुभयो।
अध्यक्ष आचार्यले पत्रकार आचारसंहिता पालनामा सञ्चारमाध्यमका सञ्चालक र पत्रकार स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। “पत्रकारले के गर्न हुन्छ र के गर्नुहुँदैन भन्ने कुरा आचारसंहितामा स्पष्ट छ, तर त्यसलाई मनन गर्ने जिम्मेवारी स्वयं पत्रकार र संस्थाको हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बसन्त पराजुलीले आचारसंहिता पालना गरेमा पत्रकारिता क्षेत्रमा देखिएका धेरै विकृति स्वतः हट्ने धारणा राख्नुभयो। काउन्सिल आफैं जिल्ला स्तरमा कार्यक्रम लिएर आउनु सकारात्मक रहेको उहाँको भनाइ थियो।
महासङ्घका उपाध्यक्ष दिपेन्द्र अधिकारीले पत्रकारबाट गल्ती हुन सक्ने भए पनि त्यसलाई स्वीकार गरी सच्याउन तयार हुनुपर्ने बताए। “आचारसंहिताको दफा १४ ले सुधारको अवसर दिएको छ,” उहाँले भन्नुभयो।
प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख रामशरण बोहराले चालु आर्थिक वर्षमा काउन्सिलमा २७० उजुरी परेको जानकारी दिनुभयो। साथै काउन्सिलको स्वअनुगमनमार्फत ५७६ उजुरी संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।

कार्यक्रममा काउन्सिल सदस्य सन्तराम बिडारीले पत्रकार स्वयं जिम्मेवार र पेशाप्रति मर्यादित भए आचारसंहिता उल्लंघनका घटना नहुने बताए। अर्का सदस्य नकुल अर्यालले समाचार लेख्नु अघि तथ्यमा यकिन हुनुपर्नेमा जोड दिँदै काउन्सिलको कामकारबाहीप्रति गुनासो भए सिधै सम्पर्क गर्न आग्रह गर्नुभयो।
चितवन जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष फुलमाया रानाभाटले पत्रकारहरू प्रश्नभन्दा सुझाव दिन बढी केन्द्रित हुने गरेको टिप्पणी गर्दै पत्रकारको भूमिकामाथि प्रश्न उठाउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश महासचिव राधेश्याम खतिवडा, पूर्व अध्यक्ष कृष्ण गिरी, कृष्ण भण्डारी, चित्रवन सन्देशका सुमन गैरेलागायतले आचारसंहिता कार्यान्वयनका विषयमा धारणा राखेका थिए।
यसैबीच, काउन्सिलको टोलीले आइतबार नै नारायणी अनलाइन र सञ्चारपत्र दैनिक को कार्यालय अनुगमन गरेको छ। अनुगमनमा अध्यक्ष आचार्यसहित काउन्सिल सदस्यहरू नकुल अर्याल, सन्तराम बिडारी, सूचना अधिकारी रामशरण बोहरा तथा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष बसन्त पराजुलीको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij