काठमाडौँ : निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ को छायाङ्कन केही दिनदेखि रोकिएको छ। सर्लाहीमा भइरहेको छायाङ्कन पछि सम्पूर्ण फिल्म युनिट काठमाडौँ फर्किसकेको छ।
निर्देशक निखिल उप्रेतीका अनुसार, फिल्ममा अभिनय गर्ने केही भारतीय कलाकारहरूको समय नमिलेको कारण फिल्म रोकिएको हो। उनले बताए, “फिल्ममा केही भारतीय कलाकारहरू छन्, तिनीहरूको समय जनवरीमा मात्र मिल्छ। त्यस बिचको समयमा फिल्म रोक्नु भन्दा सम्पादनको काम अघि बढाउँछौं भनेर हामी काठमाडौँ फर्किएका हौँ।”
फिल्मको छायाङ्कन करिब ७० प्रतिशत सकिएको छ र भारतीय कलाकारहरूको समय मिल्ने बित्तिकै बाँकी छायाङ्कन पूरा हुने निर्देशक उप्रेतीले जानकारी दिए।
फिल्मका निर्माता तथा अभिनेत्री सञ्चिता लुइँटेल हुन्। चलचित्रको छायाङ्कन भारतको प्रसिद्ध पर्यटकीय स्थल ‘डुअर्स’ बाट सुरु भएको थियो र टोली बागडोगरा, सिलिगुडी, ठाकुरगन्ज हुँदै सर्लाही पुगेको थियो।
फिल्ममा निखिल उप्रेती मुख्य भूमिकामा रहेका छन्। यससँगै सञ्चिता लुइँटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारीलगायतको अभिनय छ। यस फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रका केही चर्चित कलाकारहरूको पनि अभिनय रहनेछ।
यस्तै, यस फिल्मबाट सञ्चिता लुइँटेलले कोरियोग्राफीमा पनि पाइला चालेकी छन्। उनले फिल्मको नेपाली र हिन्दी संस्करणमा समावेश हुने एक गीतको कोरियोग्राफी गर्ने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij