काठमाडौं : हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफू र पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका भागेर नभई बाध्यतावश गएको स्पष्ट गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत ‘बकपत्र’ शीर्षकमा लामो स्टाटस लेख्दै उनले केही मिडियाले प्रस्तुत गरेको ‘अमेरिका भागे’ भन्ने धारणाको खण्डन गरेका हुन्। उनका अनुसार उनीहरूले दुई–तीन वर्षअघि नै नेपालमै बसेर ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ का लागि आवेदन गरेका थिए, जुन विशेष क्षमता भएका व्यक्तिलाई प्रदान गरिने स्थायी बसोबास अनुमति हो।
धुर्मुसले हाल अमेरिकातर्फको यात्राको मुख्य कारण छोरीको स्वास्थ्य समस्या भएको बताए। तनावका कारण विगतमा दोस्रो सन्तान गुमाएको स्मरण गर्दै उनले एक मात्र छोरीलाई कुनै स्वास्थ्य जोखिम नहोस् भनेर उपचारका लागि अमेरिका आउन बाध्य भएको टिप्पणी गरेका छन्। उनले भिसा हातमा परेको दिन खुशीभन्दा बढी पीडा लागेको उल्लेख गर्दै, “यो हाम्रो रहर थिएन, परिस्थितिले थिचेर ल्याएको अवस्था थियो,” भनेका छन्।

उनका अनुसार नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी निरन्तर झमेला, सरकारी प्रक्रिया, स्रोत अभाव र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वले आफूहरू मानसिक रूपमा निकै थिचिएको बताए। अख्तियार अनुसन्धान आयोगबाट ‘क्लिनचिट’ पाए पनि केही व्यक्तिबाट ‘ठग’ को संज्ञा दिइनु पीडादायी भएको उनले स्टाटसमा उल्लेख गरेका छन्। भरतपुर महानगरसँग भएको सहमतिअनुसार दायित्व एक महिनाभित्र फर्छ्यौट गर्ने जिम्मेवारी पूरा नभएको र केन्द्र सरकारबाट अनुदानका रूपमा आउने भनेको रकम समेत प्रक्रियागत त्रुटिले बारम्बार फ्रिज भएको उनकै आरोप छ।
धुर्मुसले नेपालमै कलाकारिता गर्दै जीवन बिताउने इच्छा प्रकट गर्दै छोरीको उपचार सम्पन्न भइरहनासाथ नेपाल फर्किने प्रतिवद्धता दोहोर्याएका छन्। उनका अनुसार अहिले उनीहरू अमेरिकाको नर्थ क्यारोलिना राज्यमा आफन्तको घरमा बसिरहेका छन्। हालै ‘लाज शरणम्’ फिल्ममार्फत पर्दामा देखिएका धुर्मुस आगामी फिल्म ‘पाँच पाण्डव’ को तयारीमा रहेका छन्। उनले अन्त्यमा राज्यलाई अपील गर्दै भने, “राज्यले सम्पत्ति त स्वीकार्छ, दायित्व भने स्वीकार्दैन—यही नै सबैभन्दा ठूलो विडम्बना हो।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij