काठमाडौँ : भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित ‘कलावंत सम्मान–२०२५’ भारतनाट्यम प्रतियोगितामा नेपालका तीन कलाकारले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष पुरस्कार जितेका छन्। प्रतियोगिता मङ्सिर २१ गते सम्पन्न भएको थियो।
ललितपुरको सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी नेपाली कलाकारहरू सव–जुनियर, जुनियर र सिनियर समूहमा उत्कृष्ट ठहरिएका छन्।
सव–जुनियर विजेता: सात वर्षीय विभाष स्वरुप रघुवंशी, एसयमजी स्कूल कक्षा २ का विद्यार्थी। पाँच वर्षको उमेरदेखि भरतनाट्यम अभ्यासरत उनी २० भन्दा बढी मञ्चमा प्रस्तुति दिईसकेका छन्।
जुनियर विजेता: १३ वर्षीया पंलेस्वा रघुवंशी, नेसनल युनाइटेड स्कूल कक्षा ९ मा अध्ययनरत। आठ वर्षदेखि नृत्ययात्रामा सक्रिय, उनले नेपाल र भारतका विभिन्न राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिइसकेकी छन्।
सिनियर विजेता: १६ वर्षीया सदीक्षा पौडेल, हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज कक्षा ११ मा अध्ययनरत। उनले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति दिँदै नृत्यलाई उच्चतम स्तरमा पुर्याइरहेकी छिन्।
प्रतियोगितामा नृत्यका साथै गायन, वादन र चित्रकलाको पनि मूल्याङ्कन गरिएको थियो। अन्तिम मूल्याङ्कनमा तीनै नेपाली कलाकारले सर्वाधिक अंक प्राप्त गर्दै ‘कलावंत सम्मान २०२५’ हासिल गरे।
गोविन्द लीला कला कौशल संस्थाका सचिव गुरु किरण साहूले नेपालको भारतनाट्यम नृत्यको तीव्र विकासले आफूहरूलाई प्रभावित गरेको बताएका छन्। कार्यक्रम संयोजक सारिका शर्माले पनि नेपाली कलाकारहरूको प्रस्तुति उल्लेखनीय रहेको उल्लेख गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij