सर्लाही : सर्लाहीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको ज१च १५५८ नम्बरको एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले उक्त एम्बुलेन्स जाँच गर्दा गाँजा फेला परेको हो। घटनामा संलग्न रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय चालक सुरेन्द्र राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, सर्लाहीकै लालबन्दी नगरपालिका–११ हिरापुरबाट ५२ किलो गाँजा सहित सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको छ।
दुवै घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij